खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार

सोमबार, १८ असार २०८०
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरेका छन् । महानगरपालिकामा सोमबार आयोजित कार्यक्रममा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र शिक्षालयका प्राचार्य परिवेश पराजुलीले विजेता खेलाडीहरुलाई अबिर लगाएर मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल हुनुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताए । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले शिक्षालयले अध्ययन गरेका विद्यार्थी अब्बल र जहाँसुकै गएर पनि प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने विचार व्यक्त गरे । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिक्षालयको प्रचारप्रसार गरी देशभरका विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । प्राचार्य परिवेश पराजुली, संयोजक संगीता पोखरेललगायतले शिक्षालयको अवस्थाका बारेमा जानकारी गराएका थिए । २०७७ साउन २७ गते स्थापना भएको शिक्षालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । हाल सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जियोमेटिक इन्जिनियरिङ अध्ययन हुन्छ । शिक्षालयमा थप तीन–चार वटा विषय अध्ययनका लागि तयारी भइरहेको संयोजक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार