दसैँ आयो, बेपत्ता श्रीमान् आएनन्

सोमबार, ०६ कार्तिक २०८०
पवन अधिकारी विराटनगर । आज दसैँको महानवमी । गाउँ, घर सहर बजार सबैतिर दसैँको रमझम छ । विभिन्न उद्देश्यले टाढा टाढा पुगेका परिवारका सदस्य, आफन्त मूल घरमा भेला हुने क्रम जारी छ । भोलि विजयादशमीको टीका लगाउने दिन । अधिकांश नेपालीको घर आँगनमा यतिबेला उत्साह र उमंगको वातावरण छ । कतिपयका घरमा दुःख परेर अघिल्ला वर्षको जस्तो उत्साह नभए पनि भेला हुने र आफन्तबीच दुःख सुखका कुरा साटासट गर्ने परम्परा भने छँदैछ । यस्तो बेला साना तिना दुःख पनि बिर्सिइन्छ । तर विराटनगर–४ राजवंशी चोक घर भएकी ब्रजुना सुवेदी भने भुल्नै नसकिने पीडामा छिन् । बिवाह गरेको सात महिनामै बेपत्ता भएका श्रीमान दिलिप सुवेदी अझै फर्किएका छैनन् । ३६ दिनदेखि बेपत्ता श्रीमान्को कुनै अत्तोपत्तो नभएपछि उनलाई दसैँ आएको छैन । उनीसँगै परिवारको पनि अवस्था उस्तै छ । परिवारले दिलिपको खोजीमा सबै प्रयास केन्द्रित गर्यो । अझै पनि कतै छन् कि भनेर सोधखोज गरिरहेकै छन् । प्रहरीले पनि खोजी गरिरहेको बताएको छ । तर उनीबारे केही पनि जानकारी पाउन सकेका छैनन् । ‘सबैतिर दसैँ आयो’ ब्रजुना भन्छिन्, ‘अचानक सम्पर्कबिहीन हुनुभएका श्रीमान् अझै घर आउनुभएन, मेरालागि यो वर्षको दसैँ आएन ।’ बिवाह गरेको पहिलो वर्ष माइती, ससुराली र सबै आफन्तहरुकहाँ पुगेर टीका, जमरा अनि आशिर्वाद लिने उनीहरुको योजना थियो । यसै पनि बिवाहको पहिलो वर्ष सकेसम्म सबै आफन्तजनसँग भेटघाट गर्ने चलन छ । त्यसैअनुसार योजना बनाएका उनीहरु बिवाहपछिको पहिलो दसैँलाई अविश्मरणीय बनाउन चाहन्थे । ‘तर खै.. के भयो भयो..’ पाँच सातादेखि सातो हराएझैँ भएकी ब्रजुना भन्छिन्, ‘सपनामा नसोचेको भयो, कहाँ हुनुहोला, के अवस्था होला भनेर भोक न निद्रा भएकी छु ।’ झापाको सुरुङ्गास्थित नेपाल टेलिकमको कार्यालयमा निमित्त प्रमुखका रुपमा कार्यरत सुवेदी कार्यालयबाटै बेपत्ता भएका थिए । विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाको नयाँ बस्तीस्थित क्वाटरबाट गत भदौदेखि उनी अचानक बेपत्ता भएका हुन् । बेपत्ता भएपछि परिवारले सम्भव भएसम्म सबैतिर खोजी गरे । प्रहरी गुहारे । तर अझैसम्म केही पत्तो लागेको छैन । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले प्रहरीका सबै युनिटहरुमा सुवेदीको तस्बिर पठाएर खोजतलास गरिरहेको बताए । श्रीमती ब्रजुना अझै पनि चिनेजानेसम्मका आफन्त, साथीभाइसँग सम्पर्क गरेर सोधीखोजी गरिरहेकी छिन् । प्रहरीमा पो केही जानकारी आयो कि भनेर त्यता पनि बुझ्ने गर्छिन् । तर केही सुइँको नपाउँदा आजित भइसकेकी छन् । श्रीमती भगवानसँग पनि बारम्बार प्रार्थना गरिरहन्छिन् । श्रीमानबारे केही न केही जानकारी आए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ । सुवेदीले प्रयोग गर्ने मोबाइल फोन बेपत्ता भएकै बेलादेखि ‘स्विच अफ’ छ । ब्रजुनाले त्यही फोन लागिहाल्छ कि भनेर सयौंपटक सम्पर्क गरिसकेकी छन् । ‘उहाँ सम्पर्कबिहीन भएको बेलादेखि नै फोन अफ छ’ भक्कानिँदै उनी भन्छिन्, ‘तर मन मान्दैन, अनि कतै लागिहाल्छ कि भनेर मेरा औंला उहाँको नम्बर डायल गर्न छाड्दैनन् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार