इलाम : ‘प्रथम इलाम गोल्ड कप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले शुक्रवार पत्रकार सम्मेलन गर्दै आयोजनाको तयारी अन्तिम चरणका पुगेको जानकारी दिएको हो ।
माघ ६ गतेदेखि इलाम सदरमुकाममा रहेको ठुलो टुँडिखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्ड कप’ फुटबल प्रतियोगिता सञ्चालन हुने छ । रेड हर्ष फुटबल क्लब इलामले प्रतियोगिता सञ्चालन गर्दै छ ।
खेल तालिका सार्वजनिक
आयोजकले पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेड हर्ष फुटबल क्लब र विदेशी टिम मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ बिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा भारतको एक सहित नेपालका आठ टोलीको सहभागिता रहने आयोजक रेड हर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरो टिम (एनआरटी) काठमाडौँसहित बिर्तामोड युनाइटेड, बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, बाग्मती युवा क्लब सर्लाही, राष्ट्रिय जागृति क्लब इटहरी, आयोजक रेड हर्ष फुटबल क्लब र छिमेकी देश भारतको विदेशी टिम मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङका टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको विजेता टिमले नगद रु ५ लाख र उपबिजेताले रु ३ लाख पाउने आयोजक रेड हर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मूले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मीड फिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया