विराटनगर / विराटनगरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक श्रव्यदृष्य सामग्रीको शुक्रवार विमोचन गरिएको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा एक कार्यक्रमका बिच श्रव्यदृष्य सामग्रीको विमोचन गरिएको छ । विराटका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की र कोसी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले संयुक्त रूपमा ‘सिर्जना’को विमोचन गरेका हुन् ।
बढ्दो आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यसाथ विराट शिक्षण अस्पताल एवं टिचिङ हस्पिटलसँगको सहकार्यमा ‘सिर्जना’ नाम दिएर जनचेतनामूलक श्रव्यदृष्य सामग्री तयार पारिएको छ ।
जनचेतनामूलक श्रव्यदृष्य सामग्री ‘सिर्जना’ले सामाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विमोचन कार्यक्रममा डा. कार्कीले सचेतना फैलाएर ‘सिर्जना’ले समाजमा बढ्दो आत्महत्या न्यूनीकरणमा सहयोग पुर्याउने बताए ।
‘पहिलो कुरा त, जनताको सेवामा अहोरात्र खटिने प्रहरी र उनका परिवार स्वस्थे हुनुपर्छ । त्यसपछि मात्रै प्रहरीले प्रभावकारी सेवा उपलब्ध गराउन सक्छ,’ उनले भने, ‘पछिल्लो समय आत्महत्या बढ्दो छ । त्यसको रोकथामका लागि ‘सिर्जना’ले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।’ कार्कीले प्रहरी कर्मचारीको उपचारमा विराट शिक्षण अस्पताल जुनसुकै सहयोग गर्न तयार रहेको जानकारी पनि दिए ।
कोसी प्रदेशमा आत्महत्याको दर उच्च भएसँगै त्यसको न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको डिआइजी बास्तोलाले बताए । आत्महत्याविरुद्धको श्रव्यदृष्य सामग्रीलाई जनचेतनाका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समुदाय र टोल–टोलमा प्रदर्शन गरिने जानकारी उनले दिए ।
‘सिर्जना’को विमोचन कार्यक्रममा कोसी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटालगायतका प्रहरी अधिकारीको उपस्थिति थियो । उक्त श्रव्यदृष्य सामग्री प्रदेश प्रहरी कार्यालयको फेसबुक पेजमा पनि राखिएको डिआइजी बास्तोलाको भनाइ छ ।
प्रतिक्रिया