इटहरी । नेपाली कम्युनिष्ट पार्टीले युवा नेता प्रविन दाहाललाई सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक जना जेन–जी (नवयुवा) उम्मेदवार सिफारिस गर्ने निर्णयका आधारमा गठित कार्यदलको २०८२ मङ्सिर ११ गते बसेको बैठकले दाहाललाई प्रत्यक्षतर्फ अघि सारेको हो।
पार्टी जिल्ला समिति सुनसरीले २०८२ फाल्गुन २१ गते हुने सङ्घीय निर्वाचनमा भाग लिनका लागि प्रत्यक्ष उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय समितिमा पठाएको विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक सिफारिस सूचीअनुसार सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट क. रामकुमारी चौधरी (रोजिना), क. एकचन्द्र बराल (निर्मल), क. डम्मरु सुवेदी (हिमाल), क. गोविन्द प्रसाद निरौला र क. प्रविन दाहाल (नवयुवा) सिफारिस भएका छन्।
त्यसैगरी, निर्वाचन क्षेत्र नं. १, ३ र ४ का लागि पनि विभिन्न नेताहरूको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको पार्टीले जनाएको छ।
को हुन् प्रविन दाहाल ?
प्रविन दाहालले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस अध्ययन पूरा गरेका छन्।
हाल उनी अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् भने महेन्द्र बहुमुखी क्याम्पस धरानमा एलएलबी अध्ययन गरिरहेका छन्। दाहाल त्रिभुवन विश्वविद्यालयमा शैक्षिक सुधारका आन्दोलनमा सक्रिय युवा नेताका रूपमा परिचित छन्।
डिजिटल युगमा पनि विद्यार्थीले ट्रान्सक्रिप्ट लिन महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि गरिएको आन्दोलनमा उनको नेतृत्व महत्वपूर्ण रह्यो। उनको पहलपछि परीक्षा नियन्त्रण कार्यालयले गत चैत महिनाको अन्त्यदेखि अनलाइन प्रणालीमार्फत ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था गरेको हो।
यससँगै पहिले महिनौँ लाग्ने प्रक्रिया अब १० देखि १५ दिनमै सम्पन्न आएको छ । त्यस्तै, इयर ग्याप र ओभरल्यापिङका कारण पास भइसकेका विद्यार्थीले ट्रान्सक्रिप्ट नपाउने समस्या समाधान भएको छ भने फिजिक्सको पहिलो सेमेस्टरमा कुनै विषयमा बि माइनस वा सोभन्दा कम अङ्क आएमा थेसिस गर्न नपाउने प्रावधान पनि हटाइएको छ।
यस परिवर्तनपछि सबै विद्यार्थीलाई थेसिस गर्ने अधिकार सुनिश्चित भएको छ। विद्यार्थीको हकहितका लागि निरन्तर सङ्घर्ष गर्दै आएका दाहाल प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस भएपछि उनका समर्थकहरू उत्साहित भएका छन्।
पार्टीभित्र पनि उनलाई सुनसरी क्षेत्र नं. २ मा परिवर्तन र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने सक्षम उम्मेदवारका रूपमा हेरिएको छ।
प्रतिक्रिया