विराटनगर : आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को तयारी स्वरूप विराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टोलीलाई भारतको मुम्बईस्थित अन्तर्राष्ट्रियस्तरको ओमटेक्स आइसीडब्ल्यूसी क्रिकेट इन्स्टिच्युट मा दुई हप्ते हाइपर्फर्मेन्स ट्रेनिङका लागि पठाएको छ।
मंगलबार प्रस्थान गरेको टोलीका लागि यो प्रशिक्षण आगामी लिगका तयारीमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास सत्र, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरूको निर्देशनमा सहभागिता जनाउनेछन्। यसले उनीहरूको खेल कौशल, फिटनेस र टिमवर्कमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
मुम्बईको ओमटेक्स आइसीडब्ल्यूसी क्रिकेट इन्स्टिच्युट अत्याधुनिक सुविधा र उच्चस्तरीय प्रशिक्षणका लागि परिचित संस्थान हो। टोलीलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभवसम्पन्न कोचहरूले प्रशिक्षण र कन्सल्टेसन प्रदान गर्नेछन्।
यस अन्तर्राष्ट्रिय एक्स्पोजरले खेलाडीहरूलाई उच्चस्तरको क्रिकेटका लागि आवश्यक तयारी र मानसिकता निर्माणमा सहयोग पुर्याउने विराटनगर किंग्सको विश्वास छ। टोलीले फ्लडलाइटको उज्यालोमा पनि अभ्यास गर्ने कार्यक्रम रहेको छ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ।
प्रतिक्रिया