एनआरटीले चुम्यो इलाम गोल्ड कपको उपाधि

शनिबार, १३ माघ २०८०
इलाम,  माघ / इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्ड कप’को उपाधि न्युरो टिम काठमाण्डौ (एनआरटी) ले चुमेको छ । शनिवार भएको फाइनलमा पेनाल्टी सुट आउटमा एनआरटीले ४–३ गोल अन्तरले झापालाई पराजित गरेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि आयोजकले सोझै पेनाल्टी सुट आउटबाट नतिजा लिएको थियो । बिर्तामोड युनाइटेड झापा उपविजेता भएको छ । ट्राइवेकरमा एन आर टीका जय गुरुङ, शमित श्रेष्ठ, प्रीसो, विवेक गुरुङले गोल गरे । बिर्तामोडका योगेश गुरुङ, असीम जङ्ग कार्की, र देवेन्द्र तामाङले गोल गरे । एन आर टीका राजीव लोप्चनको गोल बिर्तामोडका गोल रक्षकले बचाएका थिए । भने बिर्तामोडका एञ्जल गुरुङ र प्रदीप बुढाथोकीको गोल एन आर टीका गोल रक्षक पी्रसोले रक्षा गरेका थिए । बिर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया खेलको म्यान अफ् दि म्याच घोषित भए । फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । बिर्तामोडले सेमि फाइनलमा मा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो । विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापा लगायतका अतिथिले वितरण गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिर्तामोडकै रोहन कार्की भए । प्रतियोगितामा धेरै गोल चार गोल गर्ने खेलाडी आयोजक रेड हर्ष टीमका नवयुग श्रेष्ठ पनि नगद दश हजार सहित पुरस्कृत भए । उत्कृष्ट प्रशिक्षक एनआरटीका हरि ओम श्रेष्ठ, उत्कृष्ट रक्षापङ्तीका खेलाडी बिर्तामोडका संजीत राई, उत्कृष्ट मध्यपंक्तिका खेलाडी बिर्तामोडकै योगेश गुरुङ, उत्कृष्ट स्ट्राइकर एन आर टीका राजीव लोप्चन, उत्कृष्ट गोलकिपर एन आर टीकै प्रीसो जनही नगद दश हजार सहित पुरस्कृत भए । गएको माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता रेडहर्स फुटबल क्लबले आयोजना गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार