स्व. कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : उद्घाटन खेलमा तेह्रथुम विजयी

शनिबार, १३ माघ २०८०
इटहरी । इटहरीमा शनिबारबाट सुरु भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बिटीएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) तेह्रथुमले विजयी सुरुवात गरेको छ । द योङ्ग ब्रदर्श क्लबको आयोजनामा इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सुरु भएको खेलको पहिलो दिन बिटीएफसी र बेलबारी फुटबल क्लब, मोरङबीच प्रतिष्पर्धा भएको हो । प्रतिष्पर्धामा बिटीएफसीले बेलबारीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो । बिटीएफसीका लागि खेलको ४८ औँ मिनेटमा उज्वल चाम्लिङ राईको फ्रिकिकमा ज्ञानेन्द्र भण्डारीले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेल भइरहेपनि हाफ खेलपछि भने बिटीएफसीले १ गोल गर्न सफल भयो । त्यसबीचमा दुवै टिमबाट गोल गर्ने प्रयास भएपनि सोही गोल नै निर्णायक बन्यो । १ गोलले अग्रता लिएको बिटीएफसीको गोल पोस्टमा गोल फर्काउने अवसर पाएपनि बेलबारी गोल गर्नबाट चुकेको थियो । बेलबारीका लागि पटकपटक आएको अवसर गोल हुन सकेन । हाफ खेलपछि आक्रमक बनेको बेलबारी पहिलो खेलबाटै घर फर्किएको छ । खेलको म्यान अफ दि म्याच बिटीएफसीका खेलाडी ज्ञानेन्द्र भण्डारी घोषित भए । उनले नगद पाँच हजारसहित ट्रफी हात पारे । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले खेलको उद्घाटन गरे । उनले इटहरीमा हुने खेल प्रतियोगिताहरूले खेलाडीहरूलाई प्रोत्साहित गर्ने र उपमहानगरले पनि खेलकुद क्षेत्रका निम्ति महत्वपूर्ण कार्य गर्दै आएको बताए । स्थानीय सरकारले खेलकुदलाई प्रोत्साहित गर्नका निम्ति काम गरिरहेको उनको भनाइ छ । खेल संयोजक तथा क्लबका संरक्षक विकास केसीले फुटबललाई स्थापित गर्नका निम्ति योगदान पु¥याउने उदेश्यले उक्त प्रतियोगिता गरिएको बताए । उनले भने, ‘आज अर्जेन्टिना र पोर्चुगलका राष्ट्रपति को हो भनेर चिन्ने अवस्था नहुँदा महान खेलाडीहरू मेस्सी र रोनाल्डोलाई सबैले चिन्ने अवस्था छ । यसकारण पनि खेलकुदलाई प्रोत्साहित गर्नुपर्छ भन्ने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।’ फुटबल खेल विश्वकै लोकप्रिय भएका कारण र कृष्णप्रसाद भट्टराई प्रजातन्त्र प्राप्तिका लागि सबै देशका जनताले स्वीकार गरेकाले उनको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको उनले बताए । उक्त प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका निम्ति पनि सहज हुने केसीको भनाइ छ । क्लबका अध्यक्ष प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख ११ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । माघ २० गतेसम्म सञ्चालन हुने खेलमा कोशी प्रदेशका आठवटा टिम सहभागी रहेका छन् । साथै, उद्घाटन खेलमा इटहरीका शिक्षासेवी तथा बौद्धिक व्यक्तित्व लेखनाथ घिमिरेलाई सम्मानसमेत गरिएको सुब्बाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार