प्रथम महिला गोल्ड कप फागुन दुई गतेदेखि हुने

बुधबार, १७ माघ २०८०
इलाम, माघ : इलाममा प्रथम महिला गोल्ड कप हुने भएको छ । क्लब ओएसिसको आयोजनामा फागुन दुई गते देखि प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिताको फाइनल खेल प्रजातन्त्र दिवस अर्थात् फागुन सात गते हुने आयोजकले इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । प्रतियोगिता नेपालका चर्चित महिला फुटबल टिमहरूलाई सहभागिता गराइने क्लब ओएसिसका अध्यक्ष चाङ मुखियाले जानकारी दिए । उनका अनुसार भारतको मानेभन्ज्याङ फुटबल, क्लब, पाँचथर महिला फुटबल क्लब र ताप्लेजुङको महिला फुटबल क्लब आउने निश्चित भइसकेको छ । अन्य टिमको टुङ्गो लाग्न बाँकी रहेको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ क्लब लगायतसँग कुरा भइरहेको छ । जिल्लामा ठुला पुरुष फुटबल प्रतियोगिता भइरहेका छन् । तर महिला फुटबल खेल नभइरहेको अवस्थामा यो प्रतियोगिताले महिलाहरूको समेत खेल कौशलता बढ्ने आयोजकले विश्वास लिएको छ । यस प्रतियोगिता धेरै अगाडी देखि गर्न लागिरहेको भए पनि बिचमा अन्य प्रतियोगिता भएकाले सार्वजनिक गर्न ढिलाइ भएको आयोजकको भनाई छ । खेल हेर्न शुल्क नराखिने खेल संयोजक ध्रुव राईको भनाई छ । उनले हाल निर्माण भएको अस्थायी प्याराफिट मार्फत नै दर्शकलाई राख्ने व्यवस्था गरिएको बताए । प्रथम हुने टिमलाई नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजक क्लब ओएसिसका कोषाध्यक्ष रोशन राईले बताए । उनका अनुसार दोस्रो हुने टिमलाई नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । दाताहरूकै सहयोगबाट प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगितामा जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार