स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी तेह्रथुमलाई

शनिबार, २० माघ २०८०
इटहरी : इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले चुमेको छ । शनिबार भएको फाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि चुमेको हो । बिटिएफसीका लागि खेलको २२ औँ मिनेटमा शिशिर लेखीको पासमा ज्ञानेन्द्र भण्डारीले हेडिङमार्फत १ गोल गर्दै टिमका लागि खाता खोल्न सफल भए । पहिलो हाफमा १–० ले अग्रता लिएको बिटिएफसीले दोस्रो हाफपछि थप ३ गोल गर्न सफल भयो । बिटिएफसीका लागि दोस्रो हाफको ११ औँ मिनेटमा र ३३ औँ मिनेटमा शिशिर लेखीले २ गोल गरे । यस्तै, दोस्रो हाफको ३४ औँ मिनेटमा प्रदीप बुढाथोकीले १ गोल गर्दै टिमलाई थप बलियो बनाए । सिधुँवाका लागि दोस्रो हाफको ३ मिनेटमा पेनाल्टीमार्फत भुवन बस्नेतले १ गोल गरे । बिटिएफसीका खेलाडीले पोस्ट बक्सभित्र ‘फल्ड’ गर्दा पेनाल्टी भएको थियो । बस्नेतले गरेको गोल नै सिधुँवाका लागि शान्तवना गोल बन्यो । द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भइरहेको प्रतियोगिताको विजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी हात पारेको छ । यसअघि नगद दुई लाख ११ हजार दिने भनिएपछि पछि पुरस्कार राशी वृद्वि गरिएको क्लबका अध्यक्ष विजय सुब्बाले बताए । यसैगरी उपविजेता हुने सिधँुवाले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफीमा चित्त बुझायो । यसैगरी फाइनल खेलको म्यान अफ दि म्याच बिटिएफसीका शिशिर लेखी घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । यसैगरी उत्कृष्ट गोल रक्षक बिटिएफसीका प्रेम लिम्बू घोषित हुँदै नगद दस हजार हात पारे । यस्तै, उत्कृष्ट गोलकर्ताका रूपमा बिटिएफसीका शिशिर लेखी र ज्ञानेन्द्र भन्डारी, सिधुँवाका भुवन बस्नेत र धरान फुटबल क्लबका मिलन राई घोषित हुँदै नगद दस हजारमा समान रकम हात पारे । यस्तै, सर्वोत्कृष्ट खेलाडीका रूपमा सिधुँवा सिंहदेवी फुटबल क्लबका असीम राई घोषित हुँदै नगद पन्ध्र हजार हात पारे । यसैगरी उत्कृष्ट दर्शकका रूपमा एलिसा राईलाईसमेत पुरस्कृत गरियो । फाइनल खेलको प्रमुख अतिथिका रूपमा सहभागी भएका नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रको श्रीवृद्विका निम्ति सरकारले काम गरिरहेको बताए । उनले युवा तथा खेलकुद क्षेत्रका लागि सरकारले प्राथमिकतामा राखेको बताए । खेल संयोजक तथा क्लबका संरक्षक विकास केसीका अनुसार कोशी प्रदेशका आठ वटा टिम सहभागी भएका थिए । उनले आगामी वर्षमासमेत खेल प्रतियोगिता आयोजना गर्ने बताए । प्रतियोगितामा कूल २० लाख खर्च हुने अनुमान गरिएको उनको भनाइ छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार