देउमाई कपको उपाधि माईको पोल्टामा

शनिबार, २७ माघ २०८०
इलाम, माघ : देउमाई कपको उपाधि माई नगरपालिकाको पोल्टामा परेको छ । शनिवार भएको फाइनल खेलमा चुलाचुली गाउँपालिकालाई एक गोलका विरुद्ध दुई गोल गर्दै माईले उपाधिमाथि कब्जा जमाएको हो । जितका लागि खेलको ३७ औँ मिनेटमा माईका खेलाडी हरि मगरले पहिलो गोल गरे । मध्यान्तरसम्म एक गोलको अग्रता सहित खेलेको माईका लागि मध्यान्तर पछि छैटौँ मिनेटमा चुलाचुलीका खेलाडी गिल्सन कन्दङ्वाले गोल गरेपछि बराबरी पुगेको थियो । खेलको ८० औँ मिनेटमा माईका हरि मगरले गरेको अर्को गोल उपाधिका लागि पर्याप्त बन्यो । खेलको म्यान अफ दि म्याच माईका गोल गर्ने खेलाडी हरि मगर घोषित भए । उनले नगद तीन हजार समेत प्राप्त गरे । देउमाई पोस्टिङ क्लबले आयोजना गरेको प्रथम अन्तरपालिका देउमाई कपको उपाधिसँगै माई नगरपालिकाले नगद दुई लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको चुलाचुलीले एक लाखमा चित्त बुझायो । प्रतियोगिताकै उत्कृष्ट गोल रक्षकका रूपमा माईका निशम दनुवार घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर माईकै सन्दीप मगर घोषित भए । म्याच अफ दि टुर्नामेन्ट चुलाचुलीका आशिष् लावती घोषित भए भने प्रतियोगिता अवधिभरमा नै सर्वाधिक गोलकर्ताको उपाधि सन्दुकपुरका सुमन धमला घोषित भए । उनीहरूलाई जनही नगद पाँच हजार पुरस्कार प्रदान गरिएको छ । विजेता टिम तथा खेलाडीहरूलाई देउमाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सूर्यप्रसाद पोख्रेल, उप प्रमुख पविमाया राई लगायत कार्यक्रमका अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता माघ २० गतेबाट सञ्चालन भएको आयोजक समितिका प्रसार प्रचार संयोजक मौसम खनालले जानकारी दिए । प्रतियोगिता सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने दाता, सहयोगी, मेडिकल टिम, सञ्चारमाध्यम तथा दर्शकहरूलाई आयोजक समितिका अध्यक्ष मणिकुमार तामाङले धन्यवाद व्यक्त गरे ।                        साढे पाँच लाख घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले आगामी संस्करणका लागि साढे पाँच लाख नगद सहयोग गर्ने घोषणा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल र खेलाडीलाई सहयोग स्वरूप नगद सहयोग गर्ने प्रतिबद्धता जनाए । नगरपालिकामा खेल पर्यटनको विकासका लागि सहयोग गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार