दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटबल कप शुुरु

शुक्रबार, ०४ फागुन २०८०
धरान । डिपो स्कुलका पूर्व कार्यसमिति अध्यक्ष दिवङ्गत मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा शुक्रवार देखि सुरु भएको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको उद्घाटन खेलमा काम्रेल स्कुल विजयी भएका छन् । काम्रेल हाइ स्कुलले आइडल स्कुललाई १८–१४ अङ्कको अन्तरले पराजित गरेका हुन । खेलको प्रत्येक क्वाटरमा काम्रेल र आइडल स्कुलले ०–३, ७–०, ७–६ र ४–५ अङ्क जोडेका थिए । यसै गरी सोही दिन भएको अन्य खेलमा सुनाखरीले सत्य शिशु सदनलाई २४–१०, समिट स्कुलले पदम स्कुललाई ३५–७ र प्रभात स्कुलले ज्ञानोदय स्कुललाई ३४–१५ अङ्कको अन्तरले पराजित गरेका थिए । सुनसरी बास्केटबल सङ्घ र धरान बास्केटबल सङ्घको सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान १८ वडाध्यक्ष एवं पूर्व डिपो विद्यार्थी सङ्गठन अध्यक्ष प्रवीण राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल सार्वजनिक गुठी संस्थाका अध्यक्ष भिमराज लिम्बुले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन केन्द्रीय अध्यक्ष भिमज्वाला राई, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल बास्केटबल सङ्घ केन्द्रीय सदस्य रोशन राई, सुनसरी जिल्ला बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले स्वागत मन्तव्य राख्दै विद्यालय र कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । कक्षा १० सम्मका खेलाडीहरू मात्र सहभागी प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालु प्लेयर एमभिपि र हाइ स्कोर उपाधि विजेताले नगद एक हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछ । व्यक्तिगत उपाधि विजेताका लागि जनही नगद एक हजार रुपैयाँ उद्घाटन कार्यक्रममा पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राईले दिने घोषण गरेका हुन । डिपो स्कुललाई यहाँ सम्म ल्याइपुर्‍याउन लामो समय महत्त्वपूर्ण योगदान दिनु भएका दिवङ्गत मेजर श्रवणकुमार लिम्बुको सम्मानमा गत साल देखि विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवङ्गत मेजर श्रवणकुमार लिम्बुको परिवार बिच सहकार्य रहेको छ । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रूपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठी व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रही डिपो स्कुल विकासमा योगदान रहेको विद्यालयले जनाएको छ । वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेभल अध्यापन सुरु भएका थिए । उनको कोरोना महामारीको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो । प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएको छ । प्रतियोगिताको सम्पूर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार