सप्तरी र झापा प्रथम ओएसिस महिला गोल्ड कपको सेमिफाइनलमा प्रवेश 

शुक्रबार, ०४ फागुन २०८०
टीका खतिवडा इलाम फागुन : नवबुद्ध यूथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापा इलाममा जारी प्रथम ओएसिस महिला गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रवार भएको पहिलो खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई शून्यका विरुद्ध दुई गोल गर्दै सेमिफाइनलको यात्रा तय गर्‍यो । जितका लागि ममता पुन मगरले खेलको तेस्रो र २० औँ मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो । उपाधि दाबेदार मानिएको युनाइटेड देउमाईले गोल गर्न सकेन । अन्ततः पहिलो चरणबाट नै बाहिरियो । खेलको उमन अफ दि म्याच गोल गर्ने खेलाडी ममता पुन मगर घोषित भइन् । उनले नगद दुई हजार समेत प्राप्त गरिन् । शुक्रवार नै भएको दोस्रो तथा अन्तिम क्वाटर फाइनल खेलमा फराकिलो गोल अन्तरका साथ बिर्तामोड युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको छ । बिर्तामोडले भारतको पटना फुटबल क्लबलाई शून्यका विरुद्ध पाँच गोल गर्‍यो । खेलमा बिर्तामोडका तर्फबाट समीक्षा मगरले ह्याट्रिक पुरा गरिन् । उनले खेलको पाँचौँ, ४९ औँ र ५६ औँ मिनेटमा गोल गरिन् । खेलको १५ औँ मिनेटमा सिम्रन राई र १८ औँ मिनेटमा मोनिका घलेले गरेको प्रहारले समेत सोझै जाली चुम्दै गोलमा परिणत भयो । ह्याट्रिक पुरा गर्ने समीक्षा उमन अफ दि म्याच घोषित हुँदै नगद दुई हजार प्राप्त गरिन् । शनिवारको पहिलो सेमिफाइनल खेल भारतको मानेभन्ज्याङ फुटबल क्लव र नवबुद्ध फुटबल सप्तरी बिच प्रतिस्पर्धा हुने आयोजक क्लब ओएसिसका अध्यक्ष च्याङ मुखियाले जानकारी दिए । दोस्रो सेमिफाइनल खेल दीपेन्द्र शिखर फुटबल क्लब रोङ इलाम र बिर्तामोड युनाइटेड बिच प्रतिस्पर्धा हुने छ । खेलको प्रथम हुने टिमलाई नगद दुई लाख प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष रोशन राईले बताए । उनका अनुसार दोस्रो हुने टिमलाई नगद एक लाख प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल फागुन सात गते प्रजातन्त्र दिवसको दिन हुने आयोजक समितिका खेलकुद संयोजक ध्रुव राईले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार