राज्यले क्रिकेटमा लगानी बढाउनुपर्छः अध्यक्ष चन्द

मंगलबार, २२ फागुन २०८०
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राज्यले क्रिकेट खेलको विकासका लागि लगानी बढाउनुपर्ने बताएका छन् । क्रिकेटको सम्भावना निकै राम्रो भएको भन्दै उनले राज्यले लगानी बढाए अझ प्रगति गर्न सकिने उल्लेख गरे । विराटनगरमा आज सुरु भएको तेस्रो इक्वालिटी कप क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ग्रामीण क्षेत्रमा क्रिकेट खेलको विकास गर्नका लागि ध्यान दिनुपर्नेमा जोड दिए । नेपाली खेलाडीले क्रिकेटमा राम्रो प्रदर्शनसहित प्रगति गरिरहेको उल्लेख गर्दै उनले यस खेलप्रति दर्शकको क्रेज पनि बढेको बताए । क्रिकेटमा नेपाली पुरुष र महिला दुवै टिमको प्रदर्शन खारिँदै गएको भन्दै उनले अझै गर्नुपर्ने धेरै रहेको र यसका लागि राज्यको ध्यान जानुपर्ने उल्लेख गरे । यो क्षेत्रमा लगानी बढाएर नयाँ खेलाडी उत्पादन वृद्धि गर्न ठोस पहलको आवश्यकता रहेको अध्यक्ष चन्दले उल्लेख गरे । प्रतियोगिता आयोजक नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले महिला क्रिकेट खेलाडी उत्पादन गर्न प्रशस्त प्रतियोगिता आयोजना हुन सकेसहयोग पुग्ने उनले बताए । फाउण्डेसनले मोरङ क्रिकेट संघसँगको समन्वयमा प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिता फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार