तरहरा रनको तयारी पुरा , १७ सय धावक सहभागी हुने आयोजकको दाबी

विहीबार, २४ फागुन २०८०
इटहरी । इटहरी २० तरहरामा १० किलोमिटर दौड प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक तरहरा रनले बिहीबार पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । तरहरा रनका अध्यक्ष शिव रुम्दाली राईको अनुसार सात विधामा हुने प्रतियोगितामा हालसम्म एक हजार सात सय जनाले आवेदन दिएका छन् । आवेदकहरूले फागुन २६ शनिवार गते तरहरा चौकमा भेला भएर दौड प्रतियोगितामा सहभागी हुने बताए । उनका अनुसार १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइनेछ । यस्तै, १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइनेछ । यसै गरी, १६ देखि ३९ वर्षसम्म र ४० देखि माथिकालाई १० किलोमिटर दौडमा सहभागी गराइनेछ । यस्तै, ह्वील चियर मार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता गराइनेछ । स-परिवार दौड प्रतियोगिता ३ किलोमिटरको रहनेछ । सबै विधाका गरी कूल एक हजार सात सय धावक सहभागी हुने आयोजकको दाबी छ । अध्यक्ष राईका अनुसार खुल्ला दौड प्रतियोगिताका विजेता पुरुष महिला दुवैले नगद ३० हजार, उप-विजेतालाई नगद २० हजार र तृतीय हुनेलाई नगद १० हजारसहित मेडल प्रदान गरिनेछ । यसै गरी १६ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेतालाई नगद १० हजार, उप-विजेतालाई सात हजार र तृतीयलाई पाँच हजार प्रदान गरिनेछ । यस्तै, १२ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेता, उपविजेता र तृतीयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल वितरण गरिनेछ । सबै विधाका प्रतियोगितामा पुरुष र महिला दुवैलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेल क्षेत्रलाई चलायमान बनाउनका निम्ति र स्वास्थ्यलाई स्फूर्त राख्नका निम्ति उक्त दौड प्रतियोगिता आयोजना गरिएको राईले बताए । खेलका मूल संयोजक मीनकुमार खवासका अनुसार प्रतियोगितामा कूल २५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । उनले भने, ‘हामीले मुख्य बजार क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा रनको आयोजना गर्नेछौँ । जस कारण गाउँ ठाउँको वास्तविक चित्र बुझिनेछ ।’ उनका अनुसार तरहरा चौकदेखि भित्री सडक खण्डमा दौड प्रतियोगिता आयोजना हुनेछ । दौड प्रतियोगितामा ट्राफिक व्यवस्थापनका लागि पनि तयारी पूरा भएको र प्रतियोगिताका लागि एक सय ७० जना स्वयंसेवक खटिने उनले बताए । साथै, दौड अवधिभर आकस्मिक परेको अवस्थामा दुई वटा एम्बुलेन्स तयारीमा रहेको र पाँच जना नर्सले तत्काल प्राथमिक उपचार गर्न सक्ने खवासले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार