विराटनगर । विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण यही चैत दोस्रो सातादेखि आयोजना गरिने भएको छ ।
प्रतियोगिता चैत १५ गतेदेखि २४ गतेसम्म विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने छ । यसवर्षदेखि प्रतियोगिता विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गर्ने छ । विगतमा बाहिरका व्यक्तिलाई संयोजक तोकेर गोल्डकप आयोजना गर्ने गरिएको थियो । ट्रष्टले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा मंगलबार पत्रकार सम्मेलन गरेर आगामी प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको छ ।
ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले ‘हाम्रो सान, विराटनगरको पहिचान विराट गोल्डकप’ भन्ने मूल नाराका साथ रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताए ।
उनका अनुसार २ वटा भारतीय, १ वटा भुटानी र ३ विभागीयसहित ७ वटा नेपाली गरेर प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा भारतको साउथर्न समिति फुटबल क्लब कोलकाता, सिक्किम ड्रागन क्लब, भुटानको आरटीसी क्लब थिम्पु तथा नेपालका त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाईज क्लब र सांग्रिला मोरङ एफएले सहभागिता जनाउने शाहीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार २ सय रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनका अनुसार गोल्डकपको तयारीलाई तीव्र पारेर रंगशालाको मर्मत तथा सरसफाइ, ब्यानर तथा होर्डिङ बोर्ड निर्माण र रात्रिकालीन खेलका लागि फ्लड लाइट चेकजाँचलगायतका काम भइरहेको छ ।
यसवर्ष गोल्डकपको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । गतवर्ष पुरस्कारवापत विजेतालाई २० लाख १५ हजार र उपविजेतालाई १० लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । यसवर्ष भने विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख ५० हजार रूपैयाँका दरले पुरस्कार प्रदान गरिने शाहीले बताए ।
उनका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रूपैयाँका दरले प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई ११ हजार रूपैयाँ दिइने उनले बताए ।
आर्थिक मन्दीका कारण सहयोग जुटाउन नसक्दा गोल्डकपको पुरस्कार राशि घटाउनु परेको शाहीको भनाइ छ । विभिन्न चुनौतीको सामना गर्दै विराट गोल्डकपको पहिचानलाई जोगाउँदै प्रतियोगितालाई निरन्तरता दिन ट्रष्टले भूमिका खेलेको उनले बताए ।
यो प्रतियोगिता विक्रम संवत २०१८ सालदेखि महेन्द्र गोल्डकपका नामबाट सञ्चालन हुँदै आएको थियो । मुलुकको राजनीतिक परिवर्तनसँगै २०६७ सालदेखि नाम परिवर्तन गरेर विराट गोल्डकप बनाइएको हो । आगामी वर्षमा पनि पनि प्रतियोगिताले निरन्तरता पाउने अध्यक्ष शाहीले बताए ।
प्रतिक्रिया