खेलकुद विकास बोर्डका सदस्यसचिव बस्नेतले सम्हाले कार्यभार

विहीबार, २० बैशाख २०८१
विराटनगर  । उच्च अदालत विराटनगरको फैसलाबाट पुनर्बहाली भएका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले बिहीबारदेखि कार्यभार सम्हालेका छन् । नेकपा (एमाले)का युवा नेता एवं नेपाल खेलकुद महासंघका अध्यक्ष बस्नेत सदस्यसचिवको कार्यभार सम्हाल्न पुग्दा खेलकुद विकास बोर्डको कार्यालयमा ताला लगाइएको थियो । कार्यालयमा ताला लगाएर कर्मचारीहरु ओलम्पियन्स पुनर्मिलन तथा प्रथम स्पोर्टस सेलिब्रेटी कार्यक्रममा सहभागी हुन सुनसरीको इटहरी गएका थिए । इटहरीमा आलम्पियन्सहरुलाई स्वागत गर्दै वाकाथन (पैदल यात्रा)को उद्घाटन गरिएको थियो । ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले गरेका थिए । कार्यक्रमको समापन वैशाख २२ गते इलाममा गरिने छ । सूचना नै जारी गरेर बोर्डको कार्यालयमा ताला लगाउँदै उक्त कार्यक्रममा सहभागी हुन कर्मचारीहरु गएका हुन् । बोर्डको कार्यालयबाट प्रवाह गरिने सेवा बिहीबार बन्द रहने जानकारीसहितको सूचनामा यसअघिका सदस्यसचिव हंशराज वाग्लेको हस्ताक्षर छ । कार्यालय नै बन्द रहेको पाइएपछि कार्यभार सम्हाल्न पुगेका बस्नेत अलमलमा परेका थिए । त्यसपछि स्थानीय प्रशासनको निर्देशन र वडाको जनप्रतिनिधिको रोहबरमा ताला फुटाइएको हो । बोर्डका अधिकृत विनोद पाण्डेले बिना जानकारी कार्यालय बन्द गर्न मिल्दैन भनेर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निर्देशन दिएपछि ताला फुटाएर सदस्यसचिव बस्नेतलाई हाजिर गराइएको जानकारी दिए । ‘कर्मचारीहरु कार्यालयमा ताला लगाएर हिँडेका रहेछन् । पुनर्बहाली हुनु भएको सदस्यसचिवले आजै कार्यभार सम्हाल्न आउँछु भनेर फोन गर्नु भयो,’ उनले भने, ‘त्यसपछि मैले स्थानीय प्रशासन र वडा कार्यालयसँग समन्वय गरें । कार्यालय खोल्नुपर्छ भन्ने कुरा आएपछि ताला फुटाइएको हो ।’ पाण्डेका अनुसार विभिन्न निकायहरुसँगको समन्वयमा र विराटनगर महानगरपालिका वडा नम्बर ७ का प्रतिनिधिको रोहबरमा ताला फुटाइएपछि सदस्यसचिव बस्नेतले कार्यभार सम्हालेका छन् । प्रजिअ भट्टराईले पनि बिना जानकारी कार्यालय बन्द गर्न नमिल्ने बताए । ‘बोर्ड प्रदेश सरकार मातहतको कार्यालय हो । त्यसमा मैले हस्तक्षेप गर्ने कुरा भएन,’ उनले भने, ‘ताला लगाइएको छ, कसो गर्ने होला भनेर फोन गरेका थिए । तपाईंहरुको हिसाबले जे गर्नुहुन्छ गर्नुस् भनेर भनिदिएँ ।’ यता उच्च अदालत विराटनगरले पनि खेलकुद विकास बोर्डलाई बिहीबार नै फैसलाको जानकारी गराएको छ । ताला लगाएको कार्यालयमा कर्मचारी नभेटिएपछि अदालतले बोर्डको कार्यालयको भित्तामा फैसलाको जानकारी टाँसेको थियो । बस्नेत पनि अदालतको फैसला बोकेर कार्यभार सम्हाल्न पुगेका थिए । बस्नेतलाई मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले २०७८ असोज २४ गते ४ वर्षका लागि खेलकुद विकास बोर्डको सदस्यसचिव नियुक्त गरेको थियो । तर, उनी ६ महिनामै पदमुक्त भएका थिए । उनलाई मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद्ले २०७८ चैत २१ गते बर्खास्त गर्ने निर्णय लिएको थियो । उक्त निर्णयविरुद्ध बस्नेतले २०७९ वैशाख १४ गते उच्च अदालत विराटनगरमा रिट दिएका थिए । रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशहरु ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले तत्कालीन मन्त्रिपरिषद्को निर्णय बदर गर्दै बोर्डको सदस्यसचिवमा बस्नेतको पुनर्बहाली हुने फैसला गत सोमबार गरेको हो । बस्नेतलाई पदमुक्त गर्दै राजेन्द्रकुमार राई नेतृत्वको सरकारले २०७८ चैत २२ गते बोर्डको सदस्य सचिवमा हंशराज वाग्लेलाई नियुक्त गरेको थियो । वाग्लेलाई पनि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०८० जेठ ३ गते बर्खास्त गरेको थियो । कार्की नेतृत्वको सरकारले गरेको निर्णयविरुद्ध वाग्लेले पनि उच्च अदालतमा रिट दिएका थिए । उच्चको आदेशबाट तत्काल वाग्ले काममा फर्किए । वाग्लेलाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्चले आदेश दिएपछि उनी काममा फर्किएका थिए । तर, अहिले आएर उच्चले वाग्लेको रिट खारेज गरिदिएको छ । बस्नेत आफूले दायर गरेको मुद्दा विचाराधीन रहेकै अवस्थामा २०७९ को प्रदेशसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित भए । कार्की अहिले कोशी प्रदेशको मुख्यमन्त्री छन् । निर्वाचनमा पराजय बेहोरेका बस्नेतको भने अहिले अदालतको फैसलाबाट सदस्यसचिवमा पुनर्बहाली भएको छ । उनले आफूलाई एमाले नेतृत्वकै सरकारले सदस्यसचिव बनाएको बताए । ‘अहिलेको सरकारले मलाई सदस्यसचिव बनाएको हैन । आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा यसअघि नै नियुक्ति पाएको हुँ,’ उनले भने, ‘अहिलेको सरकारले नियुक्ति दिएको भए अलग कुरा हुन्थ्यो । काम गर्न अप्ठेरो हुने महसुस मैले गरेको छैन ।’ कार्यभार सम्हाल्दै बस्नेतले खेलकुद क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताए । खेल र खेलाडीको विकासका लागि सक्रिय हुने प्रतिबद्धता उनको छ । ‘म प्रदेश खेलकुद विकास बोर्डको संस्थापक सदस्यसचिव हुँ । राजनीतिक प्रतिशोधका आधारमा तत्कालीन सरकारले मलाई बर्खास्त गरेको थियो,’ उनले भने, ‘ढिलै भएपनि अदालतबाट न्याय मिलेको छ । म जिम्मेवारीमा फर्किएको छु ।’ यसअघि आफूले बनाएका योजना अनुसार खेल क्षेत्रको विकासमा सक्रिय भएर लाग्ने बस्नेतले बताए । सबै पक्षसँग समन्वय गरेर खेलाडीको विकास तथा खेलकुदका गतिविधिलाई चलायमन बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार