धरानको मुख्य चोकदेखि विजयपुर डाँडा भरिका पिण्डेश्वर बाबाधाम, दन्तकाली, बुढासुब्बा मन्दिर र पाँचकन्या मन्दिरसम्म यति बेला पहेंलो बस्त्र लगाएका भक्तजनहरूको भीडभाड हुँदा धरान धार्मिक पर्यटकको दृष्टिकोणमासमेत अब्बल रहेको अध्यक्ष बनेपाली बताउँछन् ।
पिण्डेश्वर बाबाधाममा जल चढाउन भक्तजनहरू आएपनि धरानका अन्य मन्दिरहरूसमेत दर्शन गरे चारधाम गए सरह हुने भएको मान्यता रहेकोले सबैतिर भीड भएको धरान १४ का वडाध्यक्ष कृष्ण भट्टराईले बताए ।
सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले पूजा गर्न आएको बताउँछन्, मोरङबाट आएका राजेश साह ।
टाढाटाढाबाट आएका भक्तजनहरू आइतबार नै कोकाहा नदीमा नुहाएर त्यहाँबाट बेलुका नै जल लिएर पिण्डेश्वर बाबाधाम पुगेपछि रातभरि जाग्राम बसेर सोमबार बिहान जल चढाएर घर फर्कने गर्दछन् ।
मनोकांक्षा पूरा होस् भनी कतिपय भक्तजनहरू चतराबाट पैदल हिँडेरै पिण्डेश्वर आउने गर्छन् ।
आज साउनको चौथो अर्थात् अन्तिम सोमबार भएकाले अन्य सोमबार भन्दा बढी भक्तजनहरू आएको समितिले जनाएको छ । यस वर्ष साउनमा चार वटा मात्र सोमबार परेकाले आज अन्तिम दिन भएकोले भक्तजनहरूको भीड लागेको हो ।
खासगरी साउन महिनामा सोमबार शिव भगवानको पुजा गर्ने प्रचलन भएपनि साउन महिनाको सबै दिन पूजा गर्न यहाँ भक्तजनहरूको भीड लाग्ने गरेको समितिले जनाएको छ । हालसम्म करिब पाँच लाख भक्तजनले पिण्डेश्वरको दर्शन गरेको समितिको दाबी छ ।
भारत बिहारको देवघरस्थित वैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो ।
साउन महिना शिवजीको प्रिय महिना भएकाले साउनभरि शिवालयहरूमा शिवभक्तको घुइँचो लाग्ने गर्दछ । वैदिक र पौराणिक कालमासमेत ऋषि मुनि र भगवानहरूले महादेवलाई शान्त, प्रसन्न बनाउनका लागि बोलबम पदयात्रा गर्ने गरेको र बोलपत्रसहित जल अर्पण गर्ने गरेको धर्म शास्त्रीय मान्यता रहेको छ ।
प्रतिक्रिया