सुदीप ठकुरी
डिन, विज्ञान तथा प्रविधि संकाय, मध्यपश्चिम विश्वविद्यालय
खुम्बु पासाङल्हामु गाउँपालिकाको थामे क्षेत्रमा बाढी गएको सुनियो । ताल फुटेर बाढी आएको भनिएको छ । त्यो हिमताल भएको क्षेत्र हो । तर बाढीको प्रकृति हेर्दा माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर खोला छेकिएपछि फुटेर बाढी आएको हो जस्तो देखिन्छ । त्यो क्षेत्र ताल फुट्नेभन्दा पनि हिमपहिरो जान सक्ने किसिमको हो । त्यहाँका भिडियोहरू हेर्दा पनि सुक्खा पहिरो गएर बाढी आएजस्तो देखिन्छ । यकिन भइसकेको छैन । त्यो धेरै माथिल्लो क्षेत्र हो ।
सगरमाथा क्षेत्रमा दशकदेखि नै हिमनदी र हिमतालको अध्ययन गर्दै आएका छौं । त्यस क्षेत्रमा जलवायु परिवर्तन र वर्षाको असरबारे अध्ययन गर्न थालेको दुई दशक भइसक्यो । सगरमाथा क्षेत्रका हिमनदी र हिमताल संवेदनशील देखिन्छन् । हिमनदीहरू ६० वर्षअघिको तुलनामा १५ प्रतिशतले घटेको पाइन्छ । हिमनदी घट्दै जाँदा तल्लो क्षेत्रमा हिमताल बन्दै गएका हुन् । कतिपय ठाउँमा हिमनदीमै पनि ताल बनिरहेका छन् । सन् २०१२ मा गरिएको अध्ययनमा त्यहाँ ६ सय २५ ताल पाइएको छ । सन् २०१९ मा पुनः अध्ययन गर्दा संख्या र तालको क्षेत्रफल बढेको थियो । कुनै ताल त २ सय प्रतिशतसम्म बढेका छन् । त्यसले गर्दा तल्लो क्षेत्रमा जहिले पनि जोखिम छ ।
सगरमाथा क्षेत्रमा मुख्यतः ३ वटा उपत्यका छन्– पूर्वमा खुम्बु, पश्चिममा भोटेकोशी र बीचमा गोक्यो । अहिले बाढी आएको भोटेकोशी उपत्यकामा हो । थामे धेरै ताल भएको क्षेत्र भने होइन ।
त्यहाँको सबैभन्दा ठूलो ताल भनेको डिगच्छो हो, जुन ताल सन् १९८५ मा फुटेको थियो । त्यसले थामे क्षेत्रमा रहेको खुम्बु बिजुली कम्पनीमा क्षति गरेको थियो । बस्तीमा पनि नोक्सान गरेको थियो । त्यसपछि तालको आकार घटेको छ । त्यसैले अहिले तालै फुटेको हो भन्न सक्ने अवस्था छैन ।
अहिले हिमपहिरो वा सुक्खा पहिरोका कारण नदी थुनिएर बाढी आएको हुन सक्छ । त्यहाँ हिउँ थुप्रिएर र झुन्डिएर रहेको छ । चट्टानी भिरालो क्षेत्र भएकाले जति खेर पनि हिउँ झर्ने जोखिम छ । त्यसैले हिउँ बगेर खोला छेकिएको हुन सक्छ । सगरमाथाको नेपाल र तिब्बत क्षेत्रमा जलवायु परिवर्तनले हिमनदी र हिमतालमा कस्तो असर पारेको भन्ने विषयमै मैले विद्यावारिधि गरेको हो । तल्लो क्षेत्र र खोलानालामा पर्ने असर पनि मेरो अध्ययनको क्षेत्र थियो ।
हिमताल र हिमनदी कसरी परिवर्तन भएका छन् भनेर पनि हेरेको थिएँ । तापक्रम र मौसममा आएको परिवर्तनले पारेको असर पनि खोजी गरेको थिएँ । हिमरेखा १८० मिटर माथि सरेको पाइएको थियो । त्यसको लम्बाइ पनि प्रतिवर्ष ६ मिटरको दरले घट्दै गएको देखिन्थ्यो । समग्र नेपालमा सन् १९८७ देखि २०१७ सम्म गरिएको पछिल्लो अध्ययनमा तालको संख्या ५ सय ५० बाट बढेर १ हजार ५ सय ५० पुगेको भेटिएको थियो । खुम्बु, तमोर, अरुण भ्याली र गण्डकीमा सबैभन्दा धेरै हिमताल बढेको देखिन्छ । यसले गर्दा तल्लो जलाधार क्षेत्रमा जोखिम उच्च नै छ ।
हाम्रो भौगोलिक अवस्था जटिल छ । हिमाल जहिले पनि जोखिमपूर्ण नै हुन्छ । जति बेला पनि बाढीपहिरो आउन सक्ने जोखिम अत्यधिक रहन्छ । बस्ती बसाउँदा बाढीपहिरोको जोखिमबारे ध्यान हुनुपर्छ । बाढी आएको थामे क्षेत्रमा माथि भिरालो पहाड छ । खोलाको छेउमै घरहरू बनेका छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मै थामेजस्ता बस्ती धेरै देखिन्छ । त्यसैले वडादेखि नै बस्तीको योजना बनाउनुपर्छ । प्रकोपबाट बच्ने उपाय सोचेर मात्र घर बनाउनुपर्छ ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया