खोटाङ :बाँसको लिङ्गो, केराको खम्बा !! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!पानफूल दियौँ, पानफूल खाऊ है ! सयौँ वर्षको आयुत्रा देऊ है !! सै राजा सै सै, सै रानी सै सै............
यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीय स्थलमा ढोलेतालेसहित धामी झाँक्री नाचिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामी झाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिक स्थलहरुमा गएर नुहाउनाका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् ।
गुप्त बास बसेका धामी झाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिक स्थलमा गएर नुहाई धुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामी झाँक्री जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलमा नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् ।
महिना दिनसम्म गुप्त वास बसेका धामी झाँक्री आज बिहानदेखि जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलमा भेला भएका छन् । बराह पोखरी, भुलभुले दूध कुण्ड, साप्सुधाप, कान्छी सालपा, भालुखोला, होङ्मा पोखरी, जन्ते ढुङ्गालगायत धार्मिक तथा पर्यटकीय स्थलमा बिहानदेखि धामी झाँक्रीको बृहत् मेला लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
धार्मिक तथा पर्यटकीय स्थलमा लाग्ने धामी झाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिएको छ । धार्मिक मेला भर्न आउने सर्वसाधारणका लागि होटेल तथा पसलसमेत सञ्चालन गरिएका छन् ।
जिल्लास्थित धार्मिक तथा पर्यटकीय स्थलमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजा आजासहित नुहाउँदा रोगव्याधी हट्नाका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक रहेको मुडेस्थित धार्मिक एवं पर्यटकीय स्थल भालु खोलामा आइतबारदेखि नै धार्मिक मेला लागेको छ ।
ढोल, ढ्याङ्ग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालु खोलामा बुढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ । परापूर्व कालदेखि नै यस ठाउँको पानीले नुहाई धुवाइ गरेमा रोग कष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम राईले बताए ।
श्रावण शुल्क पूर्णिमाको अवसरमा बर्सेनि ठुलो मेला लाग्ने धार्मिक एवं पर्यटकीय स्थल भालु खोलामा विभिन्न मनोकाङ्क्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । श्रावण शुल्क पूर्णिमाका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएकाले पनि धार्मिक तथा पर्यटकीय स्थलमा लाग्ने धार्मिक मेला हेर्न तथा पूजाआजा गर्ने दर्शनार्थी एवं भक्तजनको सङ्ख्या वृद्धि भएको हो ।
जिल्लास्थित धार्मिक तथा पर्यटकीय स्थलमा गएर दिनभर नाचगान गरेका धामी झाँक्री बेलुका घर फर्किएर सामूहिक तथा एकल रूपमा देवीदेवताको पूजा आराधनासहित रातभर चिन्ता बस्ने (ढोलेतालेसहित थान थापेर जप ध्यान गर्ने काम) गर्छन् ।
त्यस अवसरमा छरछिमेकका स्थानीय बासिन्दाले धामी झाँक्रीको शिर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने काम) समेत गर्ने प्रचलन रहिआएको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताए ।
पछिल्लो समय धार्मिक स्थलहरूको महत्त्व बढ्दै गएपछि जिल्लास्थित दश वटै स्थानीय सरकारले आ-आफ्नो क्षेत्रमा पर्ने धार्मिक स्थलको स्तरोन्नति तथा प्रवर्द्धन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले लाखौँ रकम खर्चिएर साप्सुधाप र भुलभुले दूध कुण्डको स्तरोन्नति गरेको छ ।
सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति एवं प्रवर्द्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरूले बताएका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति एवं प्रवर्द्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ ।
पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति तथा संरक्षण एवं प्रवर्द्धनको माग बढिरहेको छ । जिल्लास्थित सबै जातजातिका स्थानीय बासिन्दा आ–आफ्नो ऐतिहासिक स्थल संरक्षणमा जुटेका छन् ।
रासस
प्रतिक्रिया