अनसनकारीको समर्थनमा ऐक्यबद्धता

विहीबार, ०६ भदौ २०८१
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टापछि अनसनकारीको समर्थनमा विभिन्न सङ्घ संस्था तथा पेसागत सङ्गठनहरूले ऐक्यबद्धता जनाएका छन् । विभिन्न सामाजिक संस्था तथा नागरिक समाजका सङ्गठनहरूले प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । सिरहा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मनद कुमार साहको अगुवाइ अधिवक्ताहरूको टोलीले जिल्ला प्रशासन कार्यालय सिराहामार्फत मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह समक्ष अनसनकारी प्रति ऐक्यबद्धता रहेको पत्र पठाएका छन् । पुल निर्माणमा ढिलाइ गरिएको कारण हिजो बुधवार साँझ सिरहा सदरमुकाम सिरहामा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिश कुमार सिंहको पुतला दहन गरिएको छ । प्रदर्शनमा ओर्लिएका आन्दोलनकारीहरूले अनसनकारीहरूको जीवनमा तल वितल भएमा आन्दोलनको आँधीबेहरी उठ्ने चेतावनी दिएका छन् । उनीहरूले सिराहाका सांसदहरूलाई सिरहा सदरमुकाम प्रवेश निषेध गर्ने घोषणा गरेका छन् । अनसनकारीको मागलाई अविलम्ब सम्बोधन गर्न माग गर्दै सनातन हिन्दु परिषद् नेपालका अध्यक्ष मनिष कुमार यादव, समाजवादी ईन्जिनियरीङ्ग एसोसिएसन नेपाल (सीन) मधेस प्रदेशका अध्यक्ष ई रोशन कुमार यादव, मातृभूमि युवा समाज नेपालका उपाध्यक्ष डा। अविनाश पुर्वे, प्रदेश युवा सञ्जाल मधेस प्रदेशका नइम राईन लगायतले विज्ञप्ति जारी गरेका छन् । हुलाकी राजमार्गमा पर्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै पूर्वघोषित कार्यक्रम अनुसार हुलाकी राजमार्ग कमला पुल सङ्घर्ष समिति सिरहा – धनुषाका संयोजक ई प्रवीण यादव, सिरहा नगरपालिका वडा नं ४ र ६ का वडाध्यक्षद्वय समसाद आलम, ईन्द्रजित यादव , औरही गाउँपालिका वडा नंं ३ र ४ का वडाध्यक्षद्वय जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नं ८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिष कुमार यादव, समाजसेवी युवा शैलेश यादव र शिवशङ्कर यादव गत मङ्गलवारदेखि आमरण अनसनमा बसेका छन् । अनसनको समय लम्बिदै गएपछि अनसनकारीहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ । रक्तचापमा उतार चढाव देखिएपछि त्नि जना अनसनकारीहरूलाई स्लाइन पानी दिइएको छ । डा. कृष्ण कुमार यादव नेतृत्वको स्वास्थ्यकर्मीहरुले अनसनकारीहरूको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार