नील हीरा समाजमा इन्टर्न गर्दै गएपछि पीटरले आफूले घरमा आफ्नो वास्तविक पहिचान बुझेको र आफूले प्रष्ट रुपमा परिवारसँग खोलेर कुरा गर्न पटकपटक प्रयास गरेको बताइन्।
‘जब मैले आफू ट्रान्स जेन्डर हुँ भन्ने थाहा भयो, त्यसपछि घरमा भन्ने आँट गरे, पटकपटक कोसिस गरे पनि सकिन, मलाई बाबाममीलाई भन्न एकदमै गाह्रो भयो, त्यसअघि फुपुदिदी र बहिनीलाई भनिसकेको थिएँ, उनीहरुले मलाई बाहिरबाट कपडा पठाउँदा केटीकै कपडा पठाउन थालिसकेका थिए, बाबाममीलाई नभने पनि केटीले नै लगाउने लुगा ल्याइदिन थाल्नुभयो,’दिदी बहिनीले नै बाबाममीलाई भनेको हुन सक्ने संकेत गर्दै उनले भनिन्,‘दिदी बहिनीले नै भनेको भएर होला, उहाँहरुले मलाई गर्ने व्यवहार फरक हुँदै गयो, छोरीकै व्यवहार गर्न थाल्नु भयो, मैले आफैंले मुखै खोलेर उहाँहरुसँग भन्न सकिन।’ उनले सुनाइन्।
पीटरको काम नीलहीरा समाजमा चल्दै थियो। इमाडोल घरबाट आउजाउ गाह्रो भयो। त्यसमाथी पनि केटीको कपडा लगाएर अफिस जान उनलाई सहज भएन, केटाको कपडा लगाउन मन भएन। त्यसपछि उनले इमाडोल नबसेर लाजिम्पाटमा कोठा खोजिन्, घरबाट केटाको स्वरुपमा निस्किने, लाजिम्पाट पुगेर महिलाको पहिरनमा अफिस जाने उनको दैनिकी भयो।
‘केही दिन घरबाटै आउजाउ भयो, झोलामा कपडा हालेर कोठामा पुगेर महिलाको पहिरनमा आफुलाई चेन्ज गरेर अफिस जान थालेँ,’उनले सुनाइन्। बाबाममी घरमा नहुँदा भने घरबाटै महिलाको पहिरनमा अफिस जाने गरेको उनले बताइन्।
‘उहाँहरु घरमा नहुँदाचाँही म घरबाटै महिलाको पहिरनमा अफिस आउन लागें, फेरी बाबाममी आएपछि म घरबाट केटाको लुगा लगाएर आएपनि लाजिम्पाट कोठामा पुगेर कपडा फेरेरै अफिस आउने गर्थे,’उनले आफ्नो कथा सुनाउँदै गइन्।
‘त्यसपछि मलाई विवाहका लागि घरमै केटा मान्छेको कुरा आउन थाल्यो, एक जना दिदीकै आफन्तकहाँबाट फेरि बाहिरै बस्ने केटाको कुरा आयो, मैले त्यो केटा मान्छेसँग कुरा पनि गर्न थालेँ, मलाई केटी बनेर विवाह गर्न त्यसबेला एकदमै रहर जाग्यो। मलाई विवाह भन्ने कुरा एकदमै ठूलो कुरा हो भन्ने लाग्न थाल्यो, तर भिषा पाइन, म ट्रान्स भएकै कारणले मलाई भिषा दिइएन, विवाह भएर पनि म जान पाइउँदिन की भन्ने लाग्न थाल्यो। एउटा केटी हुनु र ट्रान्स हुनुमा असर पार्दो रहेछ भन्ने त्यसबेला बुझेँ। एउटा डकुमेण्टले पनि कति असर पार्दोरहेछ भन्ने त्यसबेला बुझेँ,’उनले आफ्ना छेकिएका रहर खोतल्दै भनिन्।
यस वर्षको तिहार उनका लागि बाबाममीको अगाडि लक्ष्मी बन्न जुर्यो। बाबाममी घर बाहिरबाट फर्किदा घरका भित्तामा पीटरले राखेका आफ्नो महिला पहिरनको तस्वीरले बाबाममीको मन तानिसकेको रहेछ। ‘राम्री देखिएकी छौं, तिम्रो आइडेन्टीटी देखें’ भन्ने बाबाको वचनले पीटरलाई तिहारबाट बाबाममीका अगाडि छोरी स्वरुपमा खुलायो। उनले लक्ष्मी पूजाका दिन आफूलाई महिलाकै पहिरनमा बाबाममीका अगाडी उभ्याइन।
‘धेरैपटक कोसिस गरें सकिन, बाबाममी बाहिर गएका बेला घरको भित्तामा छोरी बनेको फोटो राखेको थिएँ, त्यो फोटो पहिलेपहिले झिक्दै राख्दै आएको थिएँ, तर यसपटक हटाइन,’उनले भनिन्, ‘ओहो राम्री देखिएकी छौं’ बाबाको प्रतिक्रिया पाएको भन्दै उनले सुनाइन्। ‘मलाई ठूलो आँट आयो, छोरी बनेर आर्शिवाद मागेँ, पहिले छोरा भएर जन्मिएको अहिले छोरी भयौ, आँटेको सोचेको पुरा होस् भनेर आर्शिवाद दिनुभयो,’उनले सुनाइन्।
उनले आफ्नो पहिचान र स्वअनुभूतीले जितेको त्यो दिनलाई सम्झँदै भनिन्,‘त्यो दिन मेरा लागि विशेष दिन बन्यो, म घरमै पीटर भएँ, छोरी भएँ, ट्रान्स जेन्डर भएँ, मैले मेरो पहिचान पाएँ,’उनले विजयउत्सवको झल्को दिने गरी सुनाउँदै गइन्।
पीटरले २०२१ देखि नियमित हर्मोनको सेवन गर्दै आइरहेकी छिन्। ‘आफ्नो स्वरुपलाई परिवर्तन गर्न मैले हरेक दिन हर्मोन लिइरहेको छु, यो नखाए नशाहरु देखिने, अनुहार नरम नहुने हुन्छ, रेगुलर नै खाइरहेको छु।’ उनले भनिन्।
आफूले शरीरमा लगाउन एउटा ‘जेल क्रीम’ पनि प्रयोग गर्ने गरेको उनले जानकारी दिइन्। ‘जेलले फिमेल हर्मोन बनाउन सहयोग गर्छ, बडीमा लगाउने गरेको छु, सर्जरी गर्ने मेरो प्लान छैन, रहर छै,’पीटर भन्छिन्।
बेहुली बन्ने रहर
पीटरलाई अहिले बेहुली बन्न रहर लागेको छ। पहिले आफ्नो पहिचानको खोजीको लडाइँमा रहेकी उनलाई अहिले विवाह गर्न मन छ। ‘मलाई बाबाले विवाह गर्ने प्लान के छ भनेर सोध्ने गर्नु हुन्छ, लाइफमा एक्लै होलिउ विचार गर भन्दै आउनु भएको छ, कसैलाई ज्वाइँँ बनाएर लगेँ भने स्वीकार्नु हुन्छ, अहिलेसम्म एक्लै छु, ४० वर्षसम्ममा विवाह गर्छु भन्ने छ, बेहुली बन्ने मन छ,’उनले रहर खोल्दै भनिन्।
श्रीमानमार्फत सर्जरीको अपेक्षा भएमा भने आफूले विवाहपछि सोच्न सक्ने बताउँदै उनले भनिन्, ‘पर्फेक्ट हाउस वाइफ, पर्फेक्ट बुहारी भएर उसको घरमा रहन्छु, श्रीमान्लाई कम्फर्टेवल भएन र तिमी सर्जरी गर भन्ने सुझाव आयो भयो म त्यसका लागि पनि तयार हुनेछु, तर श्रीमानलाई र परिवारलाई तेरो बुहारी यस्तो भन्ने कुरामा उहाँहरुले स्ट्याण्ड लिन सक्नुपर्छ, म हरेक कुरामा कम्परमाइज गर्न तयार छु,’उनले भनिन्।
आजको आजै यो समूदायका व्यक्तिले आफूलाई समाजमा खुलाउन नसक्ने उनी बताउँछिन्। पहिले आफूले आफूलाई बुझ्नु पर्ने भन्दै उनले त्यसपछि मात्रै समाज र परिवारमा आफ्नो पहिचानका लागि लड्न सकिने आफ्नो अनुभवले सिकाएको उनले बताइन्।
‘म पहिल्यैदेखि फरक थिएँ, पहिलेदेखि नै भाँडाकुटी खेल्ने, भाडा माझ्न मन लाग्ने, फुटबलमा मन नै नजाने मेरो सानैदेखिको स्वभाव थियो, बाबालाई मैले त्यसपछि यी सब कुराहरु स्मरण गराएँ।’
उनले आफ्नो पहिचान पाएपछि बाबासँगको संवादलाई उल्लेख गर्दै भनिन्। पीटरले आफ्नो पहिचानलाई अरुले स्वीकार्ने गरेर आफ्नो व्यवहार देखाउनु पर्ने र त्यसका लागि समुदायका व्यक्तिहरु पनि परिवर्तन हुन जरुरी रहेको बताइन्। ‘अब कन्सेप्टलाई अलिकति चेन्ज गर्नुपर्ने बेला आइसकेको छ।’ उनले भनिन्।
प्रतिक्रिया