काठमाडौं : १० औं राष्ट्रिय खेलकुदको मिति तोक्नुपर्नेलगायतका सात बुँदे माग राखेर नेपाल खेलकुद महासंघले खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आज (सोमबार) ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठ नेतृत्वको टोलीले सरकारको ध्यानाकर्षण गराएको हो । महासंघले खेलकुदप्रति गम्भीर भएर खेलाडीले जीविकोपार्जन गर्नसक्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेको छ ।
खेल र खेलकुदको माध्यमबाट संसारभर राष्ट्रको गरिमा र पहिचान बढाउन सकिने बताउँदै महासंघले खेलाडीहरू खेलकुदका माध्यमबाट जीविकोपार्जन गर्न सक्ने आधार निमार्ण हुन जरुरी रहेको विषयलाई प्राथमिकता दिएको हो ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति टरिसकेकाले खेलाडीलगायत खेल क्षेत्रमा निराशा छाएको उल्लेख गर्दै महासंघले यथाशीघ्र नयाँ मिति तोक्दै प्रतियोगिताको तयारी तुरुन्तै थाल्नु पर्ने आवाज उठाएको छ ।
महासंघले १० औं राष्ट्रिय खेलकुदका खेलाडी छनोटलगायतको कामका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेशमा यथाशीघ्र बजेट उपलब्ध गराउनुपर्ने माग राखेको छ ।
यसैगरी प्रदेशलाई समयमै बजेट उपलब्ध नहुँदा खेलाडी छनोटलगायतका काम प्रभावकारी हुन नसकेकाले राखेपको बोर्ड बैठक यथाशीघ्र राख्न माग राखिएको छ ।
त्यस्तै, राखेपका उपाध्यक्षलगायत रिक्त सदस्य पदहरूमा यथाशीघ्र सहमतिको आधारमा नियुक्त गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पलायन रोक्न आवश्यक निर्णय गर्नुपर्ने र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने बजेट कटौती गरिएको हुँदा यथाशीघ्र बजेट व्यवस्था गर्नुपर्ने माग पनि महासंघको छ ।
महासंघले राखेपअन्तर्गतका कर्माचारीहरूको समायोजन नभएको जनाउँदै रिक्त कर्मचारी यथाशीघ्र समायोजन र पदपूर्ति गर्नुपर्ने माग राख्दै खेलकुद मन्त्रीको ध्यानाकर्षण गराएको जनाएको छ ।
प्रतिक्रिया