इलाम : गोल्डकपको दोस्रो संस्करण नजिकिएसँगै आयोजकलाई प्रतियोगिता सम्पन्न गर्न चटारो सुरु भएको छ ।
आउने मङ्सिर २२ गते देखी २९ गतेसम्म हुने प्रतियोगिता लागि आयोजक जुटेको हो । रेडहर्स फुटबल क्लबको आयोजनामा इलामको ठुलो टुँडिखेलमा आयोजना हुने छ ।
जसका लागि दर्शक बस्न बाँसको प्यारापिट निर्माण भइरहेको छ । स्थाइ प्यारापिट नहुँदा वर्सेनी रूपमा यहाँ बाँसको अस्थाई प्यारापिट निर्माण गर्नु पर्ने बाध्यता छ । जसका १० लाख माथि रकम खर्च हुने गरेको छ ।
टिम व्यवस्थापनका लागि खेलाडी बस्ने होटल समन्वय गर्ने काम भइरहेको आयोजकले बताएको छ । दोस्रो संस्करणमा पुरस्कार राशि बढाएर दोब्बर बनाइएको बताइएको छ । साथै नयाँ र ए डिभिजनमा खेलेका टिमहरूको सहभागिता रहने आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले बताए ।
मैदान मर्मत, दर्शक बस्नका लागि प्यारापिट निर्माण र आर्थिक सहयोगसहितका काम भइरहेको छ । विगत वर्षहरूभन्दा यस वर्ष मैदानलाई व्यवस्थित बनाइने बताइएको छ ।
गत वर्षको प्रतियोगिता भव्य भएकाले पनि यस वर्ष अझ जोसका साथ आयोजकले काम गरिरहेको छ । प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहने क्लबका महासचिव पृतम लिम्बु जानकारी दिए ।
विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार पूर्वी पहाडी जिल्लाकै उच्च धनराशी हो । उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले बताए । उनका अनुसार गएको वर्ष ए डिभिजन क्लबको एउटा मात्र टिम रहेको भएपनि यस वर्ष सबै ए डिभिजनका टिमहरूको सहभागिता गराइने छ ।
प्रतियोगितामा करिब ८० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका सदस्य तथा टिम व्यवस्थापक निरोज खड्गीले बताए । प्रतियोगिताको मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेट मनीबाट १८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
विभिन्न सरकारी, गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिहरूबाट समेत सहयोग जुटाउने काम भइरहेको बताइएको छ । गत वर्ष माघमा भएको पहिलो संस्करणमा एनआरटीले उपाधि जितेको थियो ।
प्रतिक्रिया