काठमाडौं : जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ । जारी नेपाल प्रिमियर लिगमा जनकपुरको यो लगातार दोस्रो जीत हो ।
त्रिवि क्रिकेट मैदानमा १४२ रनको लक्ष्य पाएको जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा सहज जीत हात पारेको हो । जीतका लागि कप्तान अनिल शाहले कप्तानी इनिङस खेल्दै अर्धशतक बनाएका थिए । साह ४२ बलमा ६२ रन बनाएर अविजित रहे । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
त्यसैगरी अर्का प्रारम्भिक बल्लेबाज आसिफ शेखले पनि राम्रो शुरूवात दिएका थिए ।
२ चौका र २ छक्कासहित शेखले २९ बलमा ३६ रन बनाएका थिए । कर्णाली याक्सका लेग स्पिनर मौसम ढकालको बलमा छक्का प्रहार गर्न खोज्दा देव खनालको हातमा उनले क्याच थमाएका थिए ।
पहिलो विकेटका लागि कप्तान साह र शेखबीच ८४ रनको साझेदारी भएको थियो । त्यसैगरी जनकपुरको पछिल्लो खेलका प्लेयर अफ द म्याच रहेका लहिरु मिलान्थाले पनि आक्रामक शैलीमा खेलेका थिए ।
उनले पनि २ चौका र २ छक्काको सहयोगले १३ बलमा १८४ को स्ट्राइक रेटले २४ रन बनाएका थिए । जीसन मक्सूदले उनलाई एलबीडव्लयू गरेर पेवेलियन फर्काएका थिए ।
प्रतिक्रिया