धरान । धरान उपमहानगरपालिकामा तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होछार (२८६१) सांस्कृतिक झाँकी र्याली सहित भव्यरुपमा मनाइएको छ ।
बिहीबार तामाङ घेदुङ नगर समितिले आफ्नो संस्कार संस्कृति सहित धरानका गुम्बाहरूबाट र्याली निकालेको थियो । र्याली भानु भोक हुँदै छाता चोक, सिंहदेवी चोक, पुरानो बजार, देशी लाइन हुँदै पुनः भानु चोकमा आएर टुङ्गिएको थियो ।
संस्कार, संस्कृति बन्न हजारौँ लाखौँ वर्ष लाग्ने भएकाले सबै जातजातिको धर्म संस्कार संस्कृति जोगाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले बताए । जाती राष्ट्र हो र सोनाम ल्होसार राष्ट्रिय पर्व हो, यो सबै जातजातिले मनाउनुपर्छ, सबैले सबै जातीको धर्मको सम्मान गर्नुपर्छ उनले भने ।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले सोनाम ल्होछार पर्व माघ १७ गतेदेखि १५ दिनसम्म विविध कार्यक्रम गरी मनाउने आयोजकले जनाएको छ ।
तामाङ जातीको नयाँ वर्षको रूपमा मनाउँदै आएको सोनाम ल्होसारका कार्यक्रमहरू यस अघिका वर्षमा सांस्कृतिक पर्यटन महोत्सवको रूपमा मनाउँदै आएको घेदुङका सचिव ललितबहादुर तामाङले बताए ।
यो वर्ष धरान डे लगत्तै सुनसरी उद्योग वाणिज्य सङ्घले धरान एक्स्पो आयोजना गरेकोले ल्होछारको अवसरमा सांस्कृतिक महोत्सव नगरीएको उपाध्यक्ष सम्फर तामाङले बताए । नेपाल सरकारले २०६१ सालदेखि माघ शुक्ल प्रतिपदा तिथिमा मनाइने सोनाम ल्होसारलाई राष्ट्रिय पर्वकोरुपमा घोषणा गरेको थियो ।
कार्यक्रममा २० वटै वडाको तामाङ सेलो नृत्य प्रस्तुत गरिएको थियो । नेपाल सहित भारत, चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्यान्ड, भुटानलगायत देशहरूमा पनि माघ शुक्ल प्रतिपदाको तिथिमा नै सोनाम ल्होछार धूमधामले मनाउने गरिन्छ ।
कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवर, धरानका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया