काठमाडौं : उदीयमान डिजिटल प्रविधि र युवा क्षमतामार्फत दिगो पर्यटन विकास कसरी सम्भव छ भन्ने विषयमा केन्द्रित ‘टुरिजम ४.० : मोविलाइजिङ युथ फर टेक–ड्रिभन चेन्ज’ शीर्षकको गोलमेच गोष्ठी यही मंसिर ५ गते(भोली) काठमाडौंमा हुने भएको छ।
एकेडेमी अफ इन्नोभेशन फर इकोनोमिक डेभलपमेन्ट (अकाइड) नेपालले नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको साझेदारीमा सञ्चालित ‘सस्टेनेबल टुरिज्म परियोजना’ अन्तर्गत उक्त छलफल आयोजना गर्न लागेको हो।
टुरिजम ४.० भन्नाले कृत्रिम बुद्धिमत्ता, बिग डेटा, ब्लकचेन, इन्टरनेट अफ थिङ्स रोबोटिक्स र इमर्सिभ मिडियाजस्ता प्रविधि एकीकृत गरी स्मार्ट, दिगो र दुव्र्यवहार–प्रतिरोधी पर्यटन प्रणाली निर्माण गर्ने अवधारणा हो।
विश्व पर्यटन क्षेत्र तीव्र डिजिटल रूपान्तरणतर्फ उन्मुख भइरहेको बेला नयाँ पुस्ताको रुचि मौलिकता, दिगोपन र नवप्रवर्तनमा केन्द्रित हुन थालेको छ। जेन–जेड नेतृत्व भूमिकामा प्रवेश गरिरहेको र जेन–अल्फा अझ उन्नत डिजिटल युगको तयारीमा रहेको परिप्रेक्ष्यमा पर्यटन क्षेत्रले भविष्यका चुनौती र अवसरबारे विशेष तयारी गर्नुपर्ने अवस्था देखिएको छ।
अकाइड नेपालका सीईओ दुर्गा थापाका अनुसार गोलमेचको उद्देश्य प्रविधिमा दक्ष युवालाई पर्यटन क्षेत्रतर्फ आकर्षित गर्ने मार्ग पहिचान गर्नु र भविष्यका पुस्तालाई आवश्यक डिजिटल तथा जलवायुसम्बन्धी सीपका लागि तयार पार्नु हो। दीर्घकालीन दिगोपनका लागि प्रविधि, नैतिकता र सांस्कृतिक सीपको सन्तुलन अपरिहार्य रहेको उनले बताइन्।
गोलमेचमा स्मार्ट पर्यटन प्रविधि, पुस्तागत तयारी तथा दिगो र प्रविधिमैत्री पर्यटन क्षेत्र निर्माणका रणनीतिबारे विस्तृत छलफल हुनेछ।
कार्यक्रममा सरकारी निकाय, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, पर्यटन तथा प्रविधि विज्ञ, संघ–संस्था, हस्पिटालिटी कलेजका प्राध्यापक तथा विद्यार्थी, युवा पर्यटन व्यवसायी र पत्रकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतिक्रिया