काठमाडौं : बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन अवरुद्ध भएपछि उत्पन्न समस्या ११ बुँदे सहमति बनाएर समाधान गरिएको छ। शहरी विकास मन्त्रालयको पहलमा सरकार र स्थानीय प्रतिनिधिबीच गरिएको वार्ताले फोहोर व्यवस्थापन सुचारु गर्न मार्ग प्रशस्त गरेको हो।
वार्तामा धादिङको धुनिवेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिका, सम्बन्धित अधिकारी तथा स्थानीय प्रतिनिधिको रूपमा अधिवक्ता सुभास पाठकको सहभागिता थियो।
११ बुँदे मुख्य सहमति
१) स्थानीयविरुद्ध विगतमा चलाइएका मुद्दा तुरुन्त समीक्षा गरी आवश्यक पत्राचार गर्ने।
२) EIA प्रतिवेदन छिटो तयार गर्न Kansal Consultant Company लाई पत्राचार गर्दै लिखित प्रतिवद्धता लिने र आगामी वर्ष बजेट विनियोजन प्रक्रिया अघि बढाउने।
३) काठमाडौं महानगरले १ महिनाभित्र घर–टहरा तथा बाली क्षतिपूर्ति प्रदान गर्ने, अति प्रभावित क्षेत्रको आधार काठमाडौँ महानगरले साविक सिसडोलको मोडेलअनुसार लागू गर्ने।
४) क्यापिङ लेयर बाहिर डाँडा काटेर फोहोर फालेका कारण भएको प्रदूषण तत्काले रोक्ने, जिम्मेवारलाई कानुनी कारबाही गर्ने र १५ दिनभित्र विज्ञको टोली बनाएर दीर्घकालीन समाधान खोज्ने।
५) बञ्चरे र सिसडोलका अति प्रभावितलाई १ महिनाभित्र काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा निशुल्क उपचार र शिक्षा संस्थामा कोटाको व्यवस्था गर्न महानगर प्रतिबद्ध।
६) प्रभावितलाई रोजगारी अवसर सुनिश्चित गर्न मेयरस फोरम तथा मन्त्रालयको बैठकमा एजेन्डा उठाइने।
७) काठमाडौं महानगरले धुनिवेंसी र ककनीलाई दिने ३/३ करोड सहयोगलाई बढाएर ६/६ करोड पुर्याउने, साथै बेलकोटगढीलाई पनि समावेश गर्ने।
८) फोहोरका कारण मृत्यु भएका परिवारलाई तुरुन्त राहत दिन कार्यविधि बनाइने।
९) फोहोर ढुवानी र बिसर्जनमा स्थानीयले लगाएको अवरोध तत्काल हटाइने।
१०) प्रभावित क्षेत्रका समस्याका समाधान, पूर्वाधार तथा खेलकुद विकासका लागि ७ सदस्यीय कार्यदल गठन।
११) तिनपिप्ले–कुमारी गल्छी सडक बहुवर्षीय आयोजनाका रूपमा चालु आर्थिक वर्षमै प्रक्रिया अघि बढाइने।
प्रतिक्रिया