कोशी बन्दकर्ताको माग : ‘नो केवलकार’

आइतबार, २० माघ २०८१
विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चित कालिन हडताल गर्ने चेतावनी दिएका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी सङ्घर्षरत सङ्घ संस्था एवम् राजनीतिक दलहरूको आव्हानमा जारी आन्दोलनका क्रममा भेटिएकी प्रदर्शनकारी सुमित्रा राईले आन्दोलनका क्रममा घाइतेको उपचार गर्नुपर्ने र केवलकार बनाउने योजना खारेज हुनुपर्ने माग राखिन । उनले भनिन्,‘हाम्रो माग भनेको नो केवल कार हो । माग पूरा नभए आम हडतालमा उत्रिन्छौँ ।’ अर्का प्रदर्शनकारी विक्रम लिम्बुले मुक्कुमलुङको पहिचान मेटाउने गरी केबलकार बनाउने योजनालाई खारेज गर्न माग गर्दा बेवास्ता गरिएकाले बाध्य भएर सडकमा आउनुपरेको बताए । उनले आन्दोलनका क्रममा अत्यावश्यक सेवालाई प्रभाव नपारेको तर दुई दिनभित्र सरकारले सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए । आन्दोलनकारीले सुनसरीसहित पूर्वका नौ जिल्लामा आज र भोलि बन्दको आव्हान गरेका छन् । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभा प्रभावित छ । आन्दोलनकारीहरूले सडकमा निस्किएर ‘केवलकार चाहिँदैन’, मुकुम्लुङको संरक्षण गर, सरकारी दमन अन्त्य गर जस्ता नारा लगाइरहेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार