विराटनगर : विराटनगरमा हत्या गरिएकी १४ वर्षीया चाँदनी यादवका बाबुआमा पक्राउ परेका छन् ।
भारत बिहारको छपरा जिल्ला घर भएका चाँदनीका बुबा अन्दाजी ४० वर्षीय लालमन राय यादव र आमा ३९ वर्षीया राजकुमारी राय यादव आइतबार पक्राउ परेका हुन् । विराटनगरमा छोरीको हत्या गरेर भारतस्थित घर गएका उनीहरू घरमै (भारत) थिए । उनीहरूलाई विराटनगर बोलाएर नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार चाँदनीको हत्यामा बाबुआमासहित उनकै मावली परिवारका सदस्यको संलग्नता रहेको पत्ता लागेको छ । प्रहरीले यसअघि चाँदनीका मावली हजुरबुबा ५५ वर्षीय सरयुग मण्डल, हजुरआमा ५३ वर्षीया बतासी मण्डल, मामा ३५ वर्षीय रामबाबु मण्डल र माइजू जानकीदेवी मण्डललाई पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा मावली परिवारका आठ जनालाई पक्राउ गरेको थियो । घटनामा संलग्नता नदेखिएपछि चार जनालाई छाडिएको छ । हजुरबुवा, हजुरआमा, मामा र माइजूबाहेक घटनामा मावली परिवारतर्फ अरूको संलग्नता नदेखिएको डीएसपी जोशीले जानकारी दिए ।
उनका अनुसार चाँदनीका बाबु लालमन, आमा राजकुमारी, मावली हजुरबुवा सरयुग मण्डल, हजुरआमा बतासी, मामा रामबाबु र माइजू जानकीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको जोशीले बताए । पहिलो चरणमा अनुसन्धानका प्रहरीलाई अदालते पाँच दिनको म्याद दिएको छ ।
हत्या गरेर विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर नजिकै खाल्डोमा गाडेको अवस्थामा गत शुक्रबार चाँदनीको शव फेला परेको थियो । ‘बाबुआमादेखि मावली परिवारसम्मको मिलेमतोमा बालिकाको हत्या गरेको पाइयो । कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि थप प्रक्रिया अघि बढेको छ,’ डीएसपी जोशीले भने ।
प्रहरीका अनुसार चाँदनीको हत्या माघ ११ गतेतिर भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले प्राप्त गरेको जानकारी अनुसार भारतमै एक व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्ध छुटाउनका लागि भनेर बाबुआमाले नै करिब एक महिनाअघि उनलाई विराटनगरस्थित मामाघरमा लिएर आएका थिए ।
प्रहरीका अनुसार चाँदनीले ती व्यक्तिलाई छाड्न नसक्ने अडान लिइन् । ‘मामाघरबाट भाग्नसमेत खोजेको पाइयो । भाग्न खोजेपछि रिसको झोंकमा हत्या गरी शवलाई खाल्डो खनेर गाडेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो ।
चाँदनीलाई मामाघरमा लिएर आएका बाबुआमा उनलाई नलिइकन भारत घरतिर फर्किएका थिए । त्यसपछि मामाघरमा पनि नदेखिएकी चाँदनी एकाएक बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चल्न थाल्यो । त्यो सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले खोजतलास गर्दा हत्या गरेर गाडेको अवस्थामा शव फेला पारेको हो ।
प्रहरीका अनुसार मामाघरदेखि एक सय २५ फिट दक्षिणमा खनिएको ारच फिट गहिरो खाल्डोबाट सडेर दुर्गन्धित भएको अवस्थामा शरीरका कपडासहितको शव निकालिएको थियो । डीएसपी जोशीले हत्याको कारण प्रेम सम्बन्ध नै रहेको बताए । उनका अनुसार हत्या गरेर शव व्यवस्थापन गरेपछि बाबुआमा भारतस्थित घर फर्किएका थिए ।
उनका अनुसार अनुसन्धानबाट र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुन्छ । बालिका बेपत्ता भएको जानकारी आउनसाथ प्रहरी पुग्दा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए ।
प्रतिक्रिया