सर्लाही : दसैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानु उर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने दुई जनालाई धरौटीमा रिहा गरिएको छ।
अदालतको शुक्रवारको आदेशअनुसार वीरगन्ज महानगरपालिका–२४, रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभ शङ्कर चौरसिया र २२ वर्षीय अमिरी पटेललाई वीरगन्ज कारागार चलान गरिएको छ। त्यस्तै, एक १७ वर्षीय किशोरलाई बाल सुधारगृह पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उक्त घटनामा संलग्न चन्दन चौरसिया र अमन पटवालले अदालतले तोकेको दुई–दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। भने, ५० हजार धरौटी बुझाउन नसकेका मन्टु पटेल भने कारागार चलान भएका छन्।
घटना गत असोज १४ गते राति करिब साढे ११ बजे वीरगन्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिक लागेको मेलामा भएको हो। सामान्य विवादबाट सुरु भएको झगडा क्रमशः हिंसामा परिणत भई ‘खुनी दरिन्दे’ नामक ह्वाट्सएप समूह सञ्चालन गर्ने गिरोहका सदस्यहरूले शिवममाथि धारिलो हतियार र बाँसका भाटा प्रयोग गरी आक्रमण गरेका थिए।
गम्भीर घाइते भएका शिवमलाई तत्काल नारायणी अस्पताल पु¥याइए पनि राति ११ः५० मा चिकित्सकले मृत घोषणा गरेका थिए।
बाराको परवानीपुर गाउँपालिका–९ का स्थायी बासिन्दा शिवम वीरगञ्जमा बस्दै रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकको निर्देशनमा ‘अपरेसन च्यालेन्ज’ नामक विशेष अनुसन्धान सञ्चालन गरिएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का, शव परीक्षण प्रतिवेदन र सिसिटिभी फुटेजको गहन विश्लेषण गरी २४ घण्टाभित्र १० जना शङ्कास्पद व्यक्तिको पहिचान गरेको थियो। त्यसपछि २८ घण्टाभित्र पाँच जना पक्राउ परेका थिए। तीमध्ये दुई जना भारतको पश्चिम चम्पारणको बल्थर गाउँमा लुकेर बसेका थिए, जसलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
पछि असोज २१ गते घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका १७ वर्षीय किशोर पक्राउ परे। उनले सामाजिक सञ्जालमार्फत शिवमलाई ‘घरमै बस्, नत्र मारिदिन्छु’ भन्दै धम्की दिएका थिए। त्यसपछि मन्टु पटेल पनि पक्राउ परेका थिए।
प्रहरीको अनुसन्धानले शिवम र उक्त गिरोहबिच एक वर्षअघि पनि झगडा भएको र प्रहरीमा उजुरी परेको तथ्य फेला पारेको छ। अनुसन्धानअनुसार घटनाको राति गिरोहका सदस्यहरूले मादक पदार्थ सेवन गरेका थिए र पुरानो रिसिइबी साँध्ने क्रममा शिवम एक्लै परेको मौका छोपेर उनको हत्या गरिएको थियो।
किशोरावस्थाको आवेग, समूहको वर्चस्व प्रदर्शन गर्ने चाहना र कुख्यात बन्ने मानसिकता यो अपराधका मुख्य कारण रहेको प्रहरीको भनाइ छ। अनुसन्धानका क्रममा सिसिटिभी फुटेज, ह्वाट्सएप च्याट, कॉल डिटेल रेकर्ड, फेसबुक पोस्ट र प्रत्यक्षदर्शी बयानले अपराधीहरूको पहिचानमा निर्णायक भूमिका खेलेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया