धरान : नेपाली कांग्रेसले संगठनलाई मजबुत, गतिशील र चुस्त बनाउन ‘मिसन रुट सशक्तिकरण’ अन्तरसंवाद अभियान सञ्चालन गर्ने भएको छ।
यो अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत धरान उपमहानगर, बराहक्षेत्र र रामधुनी नगरपालिकाका २७ वटै वडामा सञ्चालन हुने क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए।
उनका अनुसार, कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. १ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आयोजनामा, प्रदेशसभा र पालिका कार्यसमितिको समन्वय तथा वडा कार्यसमितिको व्यवस्थापनमा सञ्चालन हुनेछ।
अभियान अन्तर्गत पार्टीका वडास्तरीय प्रतिनिधि, टोल समिति र क्रियाशील सदस्यहरूसँग प्रत्यक्ष अन्तरसंवाद गरिनेछ। यसमार्फत युवा पुस्ताको सहभागिता सुनिश्चित गर्ने, १५औं महाधिवेशनका लागि सदस्यता नवीकरण, र भदौ २४ मा तोडफोड गरिएको धरानस्थित पार्टी कार्यालय पुनःनिर्माण गर्ने विषयमा जोड दिइने जनाइएको छ।

अभियानले जेनजी आन्दोलनपछि पार्टीभित्र देखिएको असहजता र निराशालाई आशा र उत्साहमा रूपान्तरण गर्ने विश्वास लिइएको छ। कांग्रेसले निर्वाचनमार्फत मात्र देशलाई विद्यमान राजनीतिक संकटबाट मुक्त गर्न सकिने ठान्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष बनाउन सचेतना जगाउने उद्देश्य राखेको छ।
अभियानमा केन्द्रदेखि टोल तहसम्मका नेता–कार्यकर्ता, भातृ संगठन र शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। कार्यक्रमको सुरुआत रामधुनी नगरपालिका–६ र ७ (बक्लौरी)बाट हुने जनाइएको छ।
प्रतिक्रिया