आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौँ : बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ ।

हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल पश्चिमी बायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ, जसका कारण वर्षा भइरहेको छ ।  

विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली हुनेछ । बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार