हेटौंडा : अवैध रूपमा ठुलो क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजा तथा अफिम खेती प्रहरीले फडानी गरेको छ । लागूऔषध गाँजा तथा अफिम खेती फडानी अभियान सञ्चालन गरेको नेपाल प्रहरीले मकवापुरमा ३० विगाह क्षेत्रफलमा गरिएको खेती नष्ट गरेको हो ।
गत पौष ११ गतेदेखि पौष १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको थियो ।
अभियानका क्रममा मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सीराङ गाउँपालिकाको वडा नम्बर १, ६, ७ र ८ तथा कैलाश गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको लागूऔषध गाँजा करिब २१ बिगाह र अफिम करिब ९ बिगहा गरी जम्मा ३० बिगाह क्षेत्रफलको खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुभाष चन्द्र बोहराले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा समेत निगरानी बढाउँदै यस्तो अभियानलाई निरन्तरता दिने जानकारी गराए ।
प्रहरीले अवैध लागूऔषध खेती, ओसारपसार तथा कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । प्रहरीले स्थानीय तह, जनप्रतिनिधि तथा समुदायसँग समन्वय गरी आगामी दिनमा पनि लागूऔषधविरुद्ध कडा कदम चाल्ने जनाएको छ ।
प्रतिक्रिया