काठमाडौं : देशका विभिन्न स्थानमा मनसुनी वर्षा तीव्र बनेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च मात्रा (अति भारी) वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ मिलिमिटर वर्षा भएको छ । त्यसपछि रौतहटकै गौरमा २५९ मिलिमिटर, वीरगञ्जमा २४७ मिलिमिटर, पर्सामा २३१ मिलिमिटर र बारामा २२२ मिलिमिटर वर्षा भएको छ ।
त्यसैगरी मकवानपुरमा १३४ मिलिमिटर र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । काठमाडौँ उपत्यकासहितका अन्य जिल्लाहरूमा पनि ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ ।
विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि १० वटा केन्द्रले खतराको तह पार गरेका छन् । ती केन्द्रहरूमा साइरन बजाइएको विभागले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार काभ्रे–रोसी, मनोहरा–काठमाडौँ, बागमती–काठमाडौँ र लालबकैया–मकवानपुर नदीमा जलसतह सतर्कता तह माथि पुगेको छ र अझै बढ्दो क्रममा रहेको छ ।
बागमती र मधेस प्रदेश हुँदै बहने प्रायः सबै नदी–नाला सतर्कता तह नजिक पुगेको भन्दै विभागले स्थानीय प्रशासन, उद्धार निकाय र नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया