देशभर चिसोले जनजीवन प्रभावित, जुम्लाको तापक्रम माइनस ४.५ डिग्रीमा झर्‍यो

मंगलबार, १५ पुस २०८२
पानी जमेर बरफ भएको तस्विर : नेपाल न्यूज बैंक

काठमाडौँ : देशभर चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ । हिमाली जिल्ला जुम्लामा चिसो अत्यधिक बढ्दै आज न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्ला हाल देशकै सबैभन्दा चिसो स्थानमध्ये एक बनेको छ ।

लगातार घट्दो तापक्रमका कारण जुम्लामा बिहान र साँझको समयमा जनजीवन कष्टकर बनेको छ । अत्यधिक चिसोका कारण सर्वसाधारण आगो तापेर बस्न बाध्य छन् भने बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हिमाली क्षेत्रमा चिसो अझै बढ्ने सम्भावना छ । उहाँका अनुसार जुम्लालगायत कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा तापक्रम घट्ने क्रम जारी रहनेछ र केही स्थानमा हल्का हिमपात पनि हुन सक्नेछ ।

विभागले सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार पुस १६ र १७ गते कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने तथा उच्च भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

चिसो बढेसँगै देशका विभिन्न स्थानमा स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको छ । जुम्लामा न्यानो कपडाको प्रयोग, आगो तथा हीटर प्रयोग गर्दा सचेत रहन र बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार