माओवादीसँग एकता तयारीमा नेकपा एस : खनाल–भुसालको प्रतिरोध, पार्टी फुटको सङ्केत

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौँ : नेकपा एमालेसँग विद्रोह गर्दै २०७८ सालमा गठन भएको नेकपा एकीकृत समाजवादीभित्र अहिले भाँडभैलो भएको छ। नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतालाई लिएर नेताहरूबिच विवाद चर्किएको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारीमा रहेका बेला सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले त्यसको विरोध गरेका छन्।

एकताका पक्षमा अध्यक्ष नेपाल, बेदुराम भुसाल सहित बहुमत केन्द्रीय सदस्य रहेको भनिए पनि, खनाल र भुसाल नेतृत्वको समूहले पार्टी पुनर्गठन वा एमालेसँग एकता गर्नुपर्नेमा जोड दिएका छन्।

खनाल, भुसाल र रामकुमारी झाँक्रीसहितको समूहले आन्तरिक छलफल भइरहेको बताएको छ। सम्मानित नेता खनालले अध्यक्ष नेपाललाई प्रश्न गर्दै भने, “माओवादीसँग मिल्नकै लागि एमाले फुटाइएको हो?

हामीले किन, कुन उद्देश्यका लागि विद्रोह गर्‍यौँ भन्ने कुरा आत्मसात् गर्नुपर्छ। दुईवटा वामपन्थी मात्र एक भएर हुँदैन, सबै वामपन्थी एकताबद्ध हुनुपर्छ। अहिले कार्यगत एकता आवश्यक छ, विचार, सिद्धान्त, नीति–कार्यक्रम र सङ्गठनमा एकता भएपछि मात्र औपचारिक एकता सम्भव हुन्छ।”

३४४ सदस्यीय केन्द्रीय कमिटीमा खनाल–भुसाल पक्षमा करिब १०० भन्दा बढी सदस्य रहेको दाबी गरिएको छ। बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम तयारी भएको बताएका थिए। तर इतर समूहका नेताहरूले एकताको आधार अझै स्पष्ट नभएको भन्दै नेतृत्वको निर्णयको कडा विरोध गरेका छन्।

नेपाल पक्षका नेताहरू भने एकताबाट पछि नहट्ने अडानमा रहेका छन्। “एकतामा जानेलाई स्वागत, नजानेले बेग्लै बाटो लिन सक्छ” भन्ने शैली देखिएकाले पार्टी फुटसम्म जाने अवस्था आएको नेताहरूले स्वीकार गरेका छन्।

समाजवादीले विचार मिल्ने दलहरूसँग एकताको प्रक्रिया अघि बढाउन नेता बेदुराम भुसालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। संयोजक भुसालले बुधवारको बैठकमा पाँचवटा दलसँग छलफल भएको जानकारी दिँदै माओवादीसँग एकता नजिकिएको सङ्केत दिए।

माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) वा नेकपा समाजवादी मध्ये एक हुने र चुनाव चिह्न तारा वा कलम रहने preliminary सहमति भइसकेको उनको भनाइ छ।

नेतृत्वविरुद्ध प्रश्न उठाउँदै आएका खनाल समूहले बिहीबारको बैठकमा अध्यक्ष नेपाललाई कठोर प्रश्नहरू उठाएका थिए। यता पोलिटब्युरो सदस्य कुलबहादुर कुँवरले भने, “माधव नेपालको नेतृत्वमा अघि बढ्नु र एकतामा जानु नै उत्तम विकल्प हो। एकताको विरोध गर्नेहरू प्रतिक्रान्तिकारी हुन्,” भन्दै एकता प्रक्रियालाई समर्थन गरे।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार