मुन्दुम ट्रेलले महाकुलुङ चिनायो, चाक्चाकुर पर्व सुरु

मुख्यमन्त्री कार्कीले गरे धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनाबारे चर्चा

मंगलबार, १५ पुस २०८२

सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सञ्चालन गरिएको मुन्दुम (रिदुम) ट्रेल भ्रमण वर्ष २०२५ को समापन गरिएको छ । समापनसँगै किराँत कुलुङ समुदायको प्रमुख पर्व मिनारी दाचाम् चासुम् लो निङदोङ चाक्चाकुर सुरु भएको छ ।

समापन तथा पर्व उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पानसमा दियो बालेर र बातासी खाएर कार्यक्रमको उद्घाटन गरे । उद्घाटन मन्तव्यमा मुख्यमन्त्री कार्कीले किराँत सभ्यता, मुन्दुम दर्शन र महाकुलुङ क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनाबारे चर्चा गरे । मुन्दुम ट्रेलले कोशी प्रदेशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व रक्षा मन्त्री मानवीर राईले कुलुङ समुदायको ऐतिहासिक योगदान, पहिचान र मुन्दुमी परम्पराको संरक्षण आवश्यक रहेको बताए । सांस्कृतिक पर्यटनमार्फत स्थानीय आर्थिक समृद्धि सम्भव हुने धारणा राखे ।

महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । एक वर्षको अवधिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक महाकुलुङ भित्रिएको तथ्याङ्क सार्वजनिक गरे । चाक्चाकुर पर्व कुलुङ समुदायको पहिचान, आत्मसम्मान र सामाजिक एकताको आधार भएको बताए ।

कार्यक्रममा कुलुङ समुदायका पुर्खाहरूलाई विशेष सम्मान गरियो । कुलुङ र शेर्पा समुदायका परम्परागत खानाका परिकारको प्रदर्शनी गरियो । कुलुङ सांस्कृतिक नृत्य, मौलिक भेषभूषा र जीवनशैली झल्किने प्रस्तुति प्रस्तुत गरियो ।

कुलुङ समुदायका पुर्खाहरूले प्रयोग गर्दै आएका चुया बाट बुनेका डोकोहरूको प्रदर्शनी गरियो । यसले परम्परागत सीप र जीवनशैलीलाई जीवन्त बनाएको सहभागीहरूले बताए ।

किराँत कुलुङ समुदायले आफ्नो प्रमुख पर्व चाक्चाकुर पुस १५ देखि १८ गतेसम्म मनाउने परम्परा छ । मध्य पुसमा प्रमुख बाली कोदो भित्र्याएपछि अन्नको सह होस्, अनिकाल नलागोस् भन्ने कामनासहित पितृ र प्रकृतिलाई पूजा गर्दै पर्व मनाइने अग्रज कुलुङहरूले बताए ।

चाक्चाकुर पर्वको पूरा नाम ‘मिनारी दाचाम् चासुम् लो निङदोङ चाक्चाकुर’ रहेको छ । मिनारी दाचाम् चासुम् को अर्थ मानव पाखुरीले उब्जाएको अन्नको सह र निङदोङ को अर्थ नयाँ वर्ष हो । कुलुङ समुदायले चाक्चाकुर पर्वलाई नयाँ वर्षको सुरुवातका रूपमा लिने मान्यता राखेका छन् ।

समापन कार्यक्रममा भलिबल, ब्याडमिन्टन, दौड, छेलो र धनुषवाणजस्ता खेलकुद प्रतियोगिता गरिए । कुलुङ भाषामा आधारित गायन तथा नृत्य प्रतियोगिता, परम्परागत सै राजा सै सै कार्यक्रम र स्थानीय कलाकारहरूको सांगीतिक साँझ पनि आयोजना गरियो ।

उद्घाटन कार्यक्रममा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत, मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राई, महाकुलुङ गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न स्थानीय तहका प्रतिनिधि तथा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यही अवसरमा महाकुलुङ गाउँपालिकाले पुस १८ गतेसम्म सार्वजनिक विदा दिएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षको समापन र चाक्चाकुर पर्वको संयुक्त आयोजनाले महाकुलुङलाई धार्मिक, सांस्कृतिक र पर्यटनको केन्द्रका रूपमा थप स्थापित गरेको स्थानीयवासीहरूले बताएका छन् ।

मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को उद्घाटन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले गरेको थियो । नेपाल सरकारले मुन्दुम ट्रेललाई देशका सय प्रमुख पर्यटकीय गन्तव्यमा समावेश गरी भ्रमण वर्ष २०२५ घोषणा गरेको हो ।

मुन्दुम ट्रेल खोटाङ र भोजपुरको सीमामा पर्ने टेम्केडाँडा (३,१६५ मिटर), साल्पा पोखरी (३,७५० मिटर) हुँदै सिलिचुङ (४,१६५ मिटर) सम्म पुग्ने गर्दछ । विदेशी पर्यटकले करिब १३ दिन र नेपाली पर्यटकले १० दिनमा यो पदमार्ग पूरा गर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार