कर्मचारी प्रशासन सुधार बिना परिवर्तन सम्भव छैन : महासचिव राई

विहीबार, १३ कार्तिक २०८२

काठमाडौं : एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव तथा समाजशास्त्रका अध्येता प्रकाश राईले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आत्मालोचना नगरे परिवर्तन स्थायी नहुने बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको विशेष भिडियो कुराकानीमा उनले वर्तमान विद्रोह र असन्तोष राजनीतिक नेतृत्वको गल्ती मात्र नभई कर्मचारी प्रशासनको कमजोरीले पनि उत्प्रेरित भएको स्पष्ट पारे ।

राईका अनुसार कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको ‘दासता र पिछलग्गुपन’ बाट मुक्त हुन जरुरी छ । ‘लोकसेवामार्फत मेरिटका आधारमा आएका कर्मचारीलाई पनि विवेक प्रयोग गर्न नदिइने, गलत निर्देशनलाई इन्कार गर्न नसक्ने अवस्थाले निराशा बढाएको छ,’ उनले भने ।

उनले सार्वजनिक सेवामा तत्काल सुधारको आवश्यकता रहेको उल्लेख गर्दै तीन प्रमुख कार्यान्वयन योग्य उपाय अघि सारेका छन् ।

पहिलो उपायका रुपमा उनले क्षतिपूर्तिसहितको नागरिक सेवा सञ्चालन गर्नुपर्ने बताएका छन् । समयमै सेवा नदिने कर्मचारीको तलबबाट क्षतिपूर्ति असुल गरी सेवाग्राहीलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

दोस्रो उपायका रुपमा उनले योग्य कर्मचारी भित्र्याउने जस्ता सेवा–सुविधामा सुधार गर्नुपर्ने बताएका छन् । त्यसका लागि उनले उत्कृष्ट जनशक्ति आकर्षित गर्न तलब तथा प्रोत्साहन बढाउने, तर काम नगर्नेमा कडा दण्ड सजायको व्यवस्था गर्नुपर्ने बताए ।

यस्तै, स्वाभिमानी प्रशासनको विकास गर्न जरुरी रहेको पनि उनले बताए । राजनीतिक नेतृत्वको अविवेकपूर्ण आदेश अस्वीकार गरी कानुन आधारित निर्णय गर्ने संस्कार विकास गर्नुपर्ने उनको तर्क छ ।

नयाँ दलहरूको उदयलाई सकारात्मक मान्दै राईले ‘विद्रोहको भावना बोकेका नयाँ नेतृत्वलाई पनि महँगो रक्सीको मात नचढोस’ भनेर चेतावनी दिएका छन् । पुराना दलले जनविश्वास गुमाएको स्वीकार गर्दै उनले जनतालाई अब ‘सशर्त मतदानको संस्कृति’ विकास गर्न आग्रह गरे ।

राजनीनिक दलसँगै ति दलका नेतालाई भोट गर्ने जनाता पनि सुध्रिन जरुरी रहेको बताउँदै उनले घोषणापत्रका आधारमा भन्दापनि कार्यान्वयनका शर्तमा मात्रै भोट दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

राईले जिल्लाहरूमा सडकमात्र पुगे पनि रोजगारी, अस्पताल र गुणस्तरीय स्कूल नपुगेकाले गाउँघरबाट बसाइँसराइ बढेको जनाउँदै भौतिक विकासले समाज रूपान्तरण गर्न नसकेको टिप्पणी गदै उनले भने, ‘विकास मानिसका लागि हो, मानिस विकासका लागि होइन् ।’

रसुवादेखि दार्चुलासम्म पहाडी गाउँहरू सुनसान हुँदै जानु, खेतबारी झाडीले ढाकिनु र जैविक विविधता क्षय हुनु विकासका दृष्टिकोणको असफलता भएको उनको निष्कर्ष छ ।

यस्तै, उनले विश्वविद्यालयहरु भित्र हुने राजनिती र भागबण्डाका विषयमा टिप्पणी गर्दै विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी अनुसन्धान र नीति मार्गदर्शनको केन्द्र बनाउनुपर्ने बताए । ‘विश्वविद्यालय राजनीतिक नेतृत्वको जुँगा चलाएर होइन, देशको बुद्धि चलाएर चल्ने संस्थान हो,’ उनले भने ।

नेपालमा भएका परिवर्तनलाई विदेशी प्रभावको परिणाम मात्र ठान्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्दै राईले भने,‘मुलुकमा भूराजनीतिक प्रभाव पर्न सक्छ । तर, हाम्रो आन्तरिक क्षमता मुख्य कुरा हो । हामीले आत्मगौरव बढाउनुपर्छ ।’
भविष्य सुन्दर बनाउन उनले दुई आधारभूत कार्य प्रस्ताव गरेका छन् । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार