सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला

बुधबार, २३ माघ २०८१
रौतहट : रौतहटको राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक विद्यार्थीको शव १४ घण्टापछि फेला परेको छ। राजदेवी नगरपालिका-७, मुडवलवाका २२ वर्षीय सुरज यादव मंगलबार साँझ करिब ६:४५ बजे मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए। सशस्त्र प्रहरी बल बीओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गण रौतहटबाट खटिएको संयुक्त टोलीले खोजीकार्य जारी राख्दा बुधबार बिहान १०:१५ बजे यादवको शव बागमती नदीमा डुबेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए। शव मूर्ति सेलाएको स्थानबाट करिब १०० मिटर दक्षिणमा भेटिएको हो। मृतक स्थानीय मूडवलवा प्राविका प्रधानाध्यापक उमेश यादवका छोरा भएको बताइएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार