चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

मंगलबार, २९ माघ २०८१
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले आगामी फागुन पहिलो साताबाट दशरथ रङ्गशालमा हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। एन्फाले मंगलबार प्रतियोगिताको तयारी पूरा भएको भन्दै राउन्ड रोविनका आधारमा शीर्ष २ मा रहने टिमबीच फाइनल खेल हुने जानकारी दिएको हो। आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ। नेपालमा पहिलो पटक चारदेशीय महिला फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो। प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान १ फागुनमा र बाँकी टोली २ फागुनमा काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ। सहभागी टिमहरुलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको जनाएको छ। प्रतियोगिताको लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ। १ करोड ३५ लाख टिकटिङ अधिकार तथा ६६ लाखमा ब्रोडकास्टिङ अधिकार बिक्री गरेको एन्फाले जनाएको छ। एन्फाले दिएको जानकारीअनुसार साधारणतर्फ १० हजार ५ सय टिकट बिक्री गरिँदा ७ सय ५० वटा भीआईपी टिकट बिक्री गरिने जानकारी दियो। टिकट मूल्य साधारणतर्फ ५ सय तथा भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। प्रतियोगिताको टिकेटिङ पार्टनरका रुपमा खल्ती रहने छ। प्रतियोगिता सम्पन्न गर्न एन्फाले अनुमानित २ करोड ५० लाख  रुपैयाँ लाग्न सक्ने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार