काठमाडौं: प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि, ११ फागुनमा बसेको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजी पदका लागि सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै उनले अब एआईजीको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन्।
तर, भट्टराईको कार्यकाल छोटो रहनेछ। ३० वर्षे सेवा अवधि पूरा हुने भएकाले ५ चैतमा उनी अनिवार्य अवकाशमा जानुपर्नेछ। त्यसैले, उनले केही हप्तामात्र एआईजीका रूपमा काम गर्ने मौका पाउनेछन्।
भट्टराईलाई एआईजी बनाउनका लागि पहिले नै सेवा अवधि बाँकी रहेको अवस्थामा रहेका एआईजी रवीन्द्र केसीलाई राजीनामा दिन लगाइएको थियो।
उनले २७ माघमा राजीनामा बुझाएका थिए। केसीको राजीनामा स्वीकृत गरेपछि भट्टराईलाई एआईजी पदमा बढुवा गरिएको हो।
प्रतिक्रिया