विराटनगर। उच्च अदालत विराटनगरले सुनसरीको धरानमा स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा तरकारी बजार निर्माण गर्न धरान उपमहानगरपालिकालाई रोक लगाएको छ।
अदालतले मंगलबार अन्तरिम आदेश जारी गर्दै उक्त जग्गामा निर्माण कार्य नगर्न आदेश दिएको हो।
न्यायाधीश ध्रुवराज नन्दको इजलासले ‘अन्तिम निर्णय नभएसम्म कुनै पनि संरचना निर्माण नगर्नु र नगराउनू’ भन्ने आदेश जारी गरेको हो। धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) द्वारा बीपी प्रतिष्ठानको 'ग्रीनवेल्ट' मार्गमा तरकारी बजार निर्माण गर्ने कार्य सुरु गरिएको थियो।
तर, बीपी प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले मेयर साम्पाङलाई उक्त जग्गामा संरचना नबनाउन आग्रह गरेका थिए। मेयर साम्पाङले उक्त आग्रह अस्वीकार गर्दै निर्माण कार्य अघि बढाएका थिए।
यसपछि, बीपी प्रतिष्ठानका रजिष्ट्रार संग्रौलाले उच्च अदालतमा रिट दायर गरे। अदालतले धरान उपमहानगरपालिका, मेयर साम्पाङ र प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
अदालतले यस आदेशसँगै उक्त जग्गा 'ग्रीनवेल्ट' एरिया रहेको र स्वास्थ्य प्रतिष्ठानको संवेदनशीलतासमेत विचार गर्नुपर्ने स्थितिमा रहेको जनाएको छ।
साथै, अदालतले यो विवादको अन्तिम निर्णय नभएसम्म कुनै पनि संरचना निर्माण नगर्न आदेश दिएको छ।
प्रतिक्रिया