“यस्तो मेला लाग्नेबित्तिकै एकपटक छिरिहाल्छु । फुर्सद हुँदासम्म आफैँ रोप्ने, बोटबिरूवाको स्याहार्ने काम गर्छु”, थापा भन्छिन् ।
पुष्प मेला हेर्न भक्तपुरबाट आएकी समृद्धि राईले ६ वटा फूलहरू किनिन्। उनी हरेक वर्ष मेलामा आउँछिन् । र, मनपरेका फूलहरू किनेर लग्छिन् ।
उनी भन्छिन्, “फूलप्रेमीलाई त मेला औधी रमाइलो लाग्छ । मैले थुप्रै फूलहरू रोपेकी छु । फूलको सङ्कलन गर्न मनपर्छ । घरभरि नै सजाएर राखेको छु ।”
मेलामा कसैको आँखा गमलामा तथा कसैको आँखा ठूलो फुल्ने फूलहरूमा देखिन्थ्यो । मौसमअनुसारको फुल्ने फूलहरूमा धेरैको चासो गइरहेको थियो ।
मेलामा जेरानियम, लाहुरे फूल, सिनारेरिया, पेटुनिया, गुलाब, लिली, कार्नेसनलगायत सयौँ प्रकारका आउटडोर तथा इन्डोर फूल तथा बोटबिरूवा प्रदर्शनीमा राखिएको थियो ।
कीर्तिपुरका साहिल श्रेष्ठ ‘अर्किड’को सङ्कलन गर्न मन पराउँछन् । उनले मेलामा विभिन्न प्रकारका अर्किडको खोजीमा आएका थिए । तर भनेजस्तो पाएनन् । उनी भन्छन्, “खासै खोजेजस्तो पाइएन । मसित भएका नै रहेछन् प्रायः । मूल्य पनि नर्सरीभन्दा अलि बढीजस्तो लाग्यो ।”
भृकुटीमण्डप प्रदर्शनी हलमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ देखि ४ गतेसम्म मेला लाग्नेछ ।
आयोजकका अनुसार मेलामा ८२ वटा प्रदर्शनी कक्ष राखिएका छन् । मेलामा विभिन्न प्रजातिका फूल, मल, गमलालगायत पुष्प सामग्री रहेका छन् ।
मेला संयोजक रामबहादुर तामाङले मेलामा करिब ६० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको बताए ।
प्रतिक्रिया