एमाले नेताहरू अहिले सुदृढ एवं बलियो आधार तयार गर्न पार्टी परिचालन भइरहेका बेला अराजक तत्त्वहरूले मुलुकमा अवाञ्छित गतिविधि गरिरहेको दाबी गर्छन् । तर, आफैँ सरकारमा भएको दलले त्यस्ता गलत र अवाञ्छित गतिविधि रोक्न किन सकेन वा चाहेन ? भन्ने प्रश्न उठेको छ ।विराटनगर : नेकपा(एमाले) अहिले सरकारको नेतृत्व गरिरहेको संसदको दोस्रो ठूलो दल हो । नेपाली कांग्रेससहितको सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । तर पनि शक्तिशाली सरकारको कामकारबाहीप्रति जनमानसमा असन्तुष्टि बढ्दो छ । आफैँले नेतृत्व गरिरहेको सरकारबाट यो चैँ गतिलो काम भयो भनेर एमालेले पनि जनतालाई स्पष्ट पार्न सकेको छैन । ओलीले अहिले नेतृत्व गरेको सरकार दुई तिहाइ बहुमतको छ । कांग्रेससहित साना दलको समर्थनमा सरकारको नेतृत्व गरिरहेका ओलीलाई जनमुखी काम गर्नुपर्ने जिम्मेवारी छ । तर, सरकारमा बसेर जनपक्षीय काम गर्नुपर्ने एमालेले आफैँ प्रतिपक्षी वा विरोधीजस्तो भएर सडकमा उत्रिनुपर्ने अवस्था आएको छ । ओलीले सरकारबाट जनमुखी काम गर्छ छाडेर सडक तताउन आउने निर्णय लिएपछि विरोध एवं आलोचना धेरै भइरहेको छ । ‘मुलुकमा राजा चाहिन्छ’ भनेर आवाज उठाउनेहरूलाई दलकै गलत गतिविधिले मलजल गरिरहेको तथ्य कतै लुक्दैन । सत्ताको नेतृत्व गरिरहेको एमाले मात्रै हैन, सत्तारुढ कांग्रेसदेखि प्रतिपक्षी माओवादीलगायत आफूलाई गणतन्त्र एवं लोकतन्त्रवादी भन्न रुचाउने दलहरूकै गतिविधिले व्यवस्थाविरुद्धको आवाजलाई मजबुत बनाएको विश्लेषण गर्न थालिएको छ । [caption id="attachment_95497" align="alignnone" width="1200"]
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली[/caption]
तर, एक अर्कालाई आरोप लगाएर आफूले गरेको गल्ती एवं बदमासीबाट उम्किने प्रयास गरिरहेका छन् । विभिन्न अनियमितता, भ्रष्टाचार तथा जनविरोधी गतिविधिलाई शीर्ष नेताहरूले नै प्रश्रय दिइरहेको आरोप लाग्छ । उनीहरूको व्यवहार, गतिविधि र कामकारबाहीले उक्त आरोपलाई पुष्टि गर्छ ।
सत्तारुढ एमालेले चैत ३० गते अर्थात् शनिवार(भोली) झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै गृह नगर दमकमा हुन लागेको जनसभालाई चासोका साथ हेरिएको छ । व्यवस्थामाथि धावा बोलिएको भन्दै यसअघि एमालेले विभिन्न ठाउँमा प्रदर्शन गरिसकेको छ ।
सरकारको नेतृत्वमा आफैँ भएर नागरिकलाई भरोसा दिनुपर्ने ठाउँमा एमाले आफैँ सडकमा आउनु आफैँमा फरक विषय हो । तर, प्रतिगामीहरूलाई टाउको उठाउन नदिने भन्दै अझै केही ठाउँमा प्रदर्शन एवं जनसभा गर्ने एमालेको तयारी छ । जरा अभियानमार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमाले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धि रक्षाका लागि सक्षम रहेको दाबी गर्छ ।
तर, एमालेको जरा अभियान नै प्रभावकारी हुन सकेको छैन । आफैँ सरकारमा हुँदा समेत नागरिकलाई सन्तोष दिन सकिरहेको छैन ।
एमाले नेताहरू अहिले सुदृढ एवं बलियो आधार तयार गर्न पार्टी परिचालन भइरहेका बेला अराजक तत्त्वहरूले मुलुकमा अवाञ्छित गतिविधि गरिरहेको दाबी गर्छन् । तर, आफैँ सरकारमा भएको दलले त्यस्ता गलत र अवाञ्छित गतिविधि रोक्न किन सकेन वा चाहेन ? भन्ने प्रश्न उठेको छ ।
व्यवस्था विरोधी र अवाञ्छित गतिविधि बढेको भए नियन्त्रण गर्नुपर्ने वा असन्तुष्ट पक्षलाई मिलाएर अघि बढिपर्नेमा आफैँ सडकमा ओर्लिएपछि एमालेमाथि नैतिक प्रश्न नै उठेको हो । आफैँ सरकारको नेतृत्वमा रहेका बेला विरोधीजस्तो सडकमा आउनु गलत भएको टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री ओलीले दुई तिहाइको दम्भ देखाउन खोज्दा मुलुकको परिस्थिति भड्किँदै गएको आरोप कतिपयको छ ।
‘सत्ताको नेतृत्व गरेको दल नै सडकमा आउन अलिक मिलेन,’ राजनीतिक विश्लेषक गिरिश भट्टराई भन्छन्, ‘यस्तो कार्य सत्ता नेतृत्वकर्तालाई सुहाउँदैन ।’ काम गर्नुपर्ने बेलामा सडकमा आइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘ठूला २ दलको सरकार आफैँमा दम्भ जस्तो देखिन्छ । अहिले के त्यस्तो आइपर्याे सडकमा नओर्लि नहुने ? सरकारमा दुई तिहाइ छ । काम गर्नुपर्ने हो । तर, यहाँ त उल्टो भयो । कसका लागि सडकमा आउने ?,’ भट्टराईले प्रश्न गरे ।
सत्तारुढ दलले प्रदर्शन गर्नु भनेको सडकमा भिड देखाउनेबाहेक अरू केही नभएको उनी बताउँछन् । कानुन निर्माण गर्ने र ‘डेलीभरी’ दिने विषयमा बलियो सरकारलाई धेरै ठाउँ रहेको भन्दै भट्टराईले के का लागि सडक तताउने ? भनेर प्रश्न गरेका छन् । सरकारमा रहेका बेला जनतालाई राम्रा काम गरेर खुसी पार्नुको साटो आफैँ सडकमा उपस्थित हुनुले गलत थिति बसाल्ने उनको विश्लेषण छ ।
‘काम गर्न बिर्सिएर सडकमा किन आउनु पर्याे ? संसदीय व्यवस्थामा सडक विपक्षीको हो । बलियो सरकार देखाउन सडकमा आउनै पर्दैन । जनमुखी काम गर्दा हुन्छ,’ भट्टराई भन्छन् ।
अर्का राजनीतिक विश्लेषक शान्तिराम भण्डारीको मत भने फरक छ । सत्तापक्षले सडकमा प्रदर्शन गर्नु नौलो नभएको उनले बताए । ५–५ वर्षको आवधिक निर्वाचनमा बिच–बिचमा आफ्नो शक्ति परीक्षणका लागि दलहरू सडकमा आउने भण्डारीको भनाइ छ ।
‘सरकारमै भए पनि सडकमा आउन नहुने भन्ने होइन । आउन मिल्छ । यसअघि पनि नेतृत्वकर्ता दलहरू आएका छन् । यो दलहरूले गरेको आफ्नो परीक्षण हो । गलत तरिकाले व्याख्या गर्न हुँदैन’ उनले भने ।
राजनीतिक विश्लेषक मणि दाहाल सरकारको नेतृत्व गरिरहेको दल सडकमा आउनु गलत भएको बताउँछन् । ‘राजनीतिक नैतिकता हुँदा सरकारको नेतृत्व गरेको दल सडकमा आउँदैन । जनताको आवाज सम्बोधन हुने गरी काम गर्छ । नैतिकता नहुँदा जे गर्दा पनि हुन्छ,’ उनले भने ।
सरकारले काम गर्न नसक्दा जनतामा आक्रोश बढेको सम्झँदै दाहालले आफ्नो कर्तव्य भुलेर सरकार सडकमा आएको बताए । ‘सडकमा आउने सबै राजावादी होइनन् । सरकारले काम गर्न नसकेपछिको असन्तोष पोखिएको हो । बलियो सरकारले काम गर्नुपर्ने हो । सडकमा प्रदर्शन होइन,’ उनी भन्छन् ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा व्यवस्थामाथि नै धावा बोलिन थालेपछि देशव्यापी रूपमा सडकमा आउनु परेको दाबी गर्छन् । सडकबाट जनतालाई सचेत गराइने उनले बताए । सत्तामा रहेको दल सडकमा आउन मिल्दैन भन्नु लगत भएको खतिवडा बताउँछन् ।
‘सरकारविरुद्ध मात्रै सडकमा आउनुपर्छ भन्ने बुझाइ गलत छ । लोकतन्त्र बलियो बनाउनका लागि जागरण सभा गर्न थालिएको हो,’ उनले भने, ‘धेरै कुराहरूमा जनतालाई भ्रममा पार्न खोजिएको छ । त्यसलाई चिर्न जागरण सभा गर्नुपर्ने अवस्था आयो ।’ मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्त्वहरू सलबलाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको खतिवडाले बताए ।
उनका अनुसार एमालेको मिसन ८४ र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरूले अराजक गतिविधि बढाएको पार्टीको निष्कर्ष छ । दमकमा हुने सभामा १ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी उनले दिए । उक्त जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि आउने खतिवडाले बताए ।
सरकारको नेतृत्वमा रहेर जनभावना अनुसार काम गर्नुपर्ने एमाले अहिले सडकमा ओर्लिएपछि सर्वत्र विरोध एवं आलोचना भइरहेको छ । सत्तारुढ दलले मुलुक र जनताका लागि काम गर्नुपर्ने बेला प्रतिपक्षी वा विरोधीजस्तो सडकमा आउनु गलत भएको विश्लेषण गर्न थालिएको छ ।
प्रतिक्रिया