इलाममा हुने म्याराथनमा १४७ धावक सहभागी

शुक्रबार, ०१ बैशाख २०८०
इलाम । इलाममा इलाम–माइपोखरी म्याराथन प्रतियोगिता हुँदै छ। प्रतियोगितामा एक सय ४७ जना धावक सहभागी हुने भएका छन् । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित हुने म्याराथन प्रतियोगितामा नेपालका बिभिन्न स्थानबाट धावक सहभागी हुन इलाम आएका छन् । इलाम नगरपालिका खेलकुद प्रतिष्ठानका उपाध्यक्ष गणेश खतिवडाका अनुसार एक सय १९ पुरुष र २८ महिला धावक सहभागी हुने छन् । पुरुषतर्फ ४२ किलोमिटर दूरी रहने छ । जसमा इलाम नगरपालिका १०, गोदकको नारायण चोकदेखि सन्दकपुर गाउँपालिकाको सातखाल्डेसम्म ४२ दशमलव २ र महिलातर्फ इलाम बजारदेखि सातखाल्डेसम्म २१ दशमलव १ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता हुनेछ । पुरुषतर्फ म्याराथनको दूरी पार गर्न ४ घण्टा १५ मिनेट र महिला तर्फको दूरी पार गर्नका लागि २ घण्टा ५ मिनेट समय निर्धारण गरिएको छ । पुरुषतर्फको म्याराथन विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख पचास हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै महिलातर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । पुरुषतर्फ सहभागी १० जनालाई र महिलातर्फ ५ जनालाई पुरस्किृत गरिने जनाइएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा म्याराथुन आयोजना गरिएको हो । प्रतियोगिताका सहभागी धावकलाई विहीबार स्वास्थ्य परिक्षण गरी अभिमुखीकरण गरिसकिएको छ । सहभागीलाई दौड सुरु गर्ने स्थानसम्म पुर्याउन आयोजकले नै ब्यवस्था गरेको छ । जसमा चारवडा बसले खेलाडीलाई गोदक लैजाने छ । प्रतिष्पर्दीलाई सहभागीसँगै बिचबिचमा खानेपानी तथा फलफुलको ब्यवस्था गरिएको छ । साथै स्वास्थ्य उपचार टोली सहित एम्बुलेन्सको समेत ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार