काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल सुरु हुँदैछन् । साविक विजेता मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम एनआरटीको सामना गर्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल दिउँसो २ बजे सुरु हुनेछ । मच्छिन्द्र लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । लिगको अघिल्लो खेलमा एफसी खुमलटारमाथि ७ - ३ गोलको जित हात पारेको थियो । उक्त खेलमा आफिज ओलावाले एक्लैले ५ गोल गरेका थिए । एनआरटी भने संकटासँग पराजित भएको थियो ।
आठ खेलमा एकमामात्र जित हात पारेको एनआरटी रेलिगेसन खतराभन्दा माथि उठ्ने लक्ष्यमा छ । १२ औँ स्थानमा रहेको एनआरटीको ६ अंक छ। मच्छिन्द्र ८ खेलबाट १२ अंकसहित आठौँ स्थानमा छ ।
यही समयमा हुने अर्को खेलमा मनाङ मर्स्याङदी र जावलाखेल युथ क्लब आमनेसामने हुनेछन् । यो खेल च्यासल मैदानमा हुनेछ । मनाङ यसअघिको खेलमा सातदोबाटो युथ क्लबसंग १ - ० गोलले पराजित भएको थियो । जुन उसको सिजनको पहिलो हार हो ।
दोस्रो स्थानमा रहेको मनाङको १५ अंक छ । आज जित हात पारे पुन: शीर्ष स्थानमा फर्कनेछ । शीर्ष स्थानको सातदोबाटोको १६ अंक छ । १४ अंकका साथ जावलाखेल चौथो स्थानमा छ। यदि मनाङलाई हराए जावलाखेल पनि पहिलो स्थानमा पुग्नेछ । आजै साँझ पौने ६ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटवल क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार खराब हारबाट पुनरागमनको प्रयासमा हुनेछ । खुमलटार ७ अंक जोड्दै एघारौँ स्थानमा छ । छैटौँ स्थानको आर्मीको १२ अंक छ ।
प्रतिक्रिया