मनोज दाहाल । दिनहुँ कतै न कतै दुर्घटना भएका समाचार सार्वजनिक हुन्छन् । कतिपयको ज्यान जान्छ । कति घाइते हुन्छन् । दुर्घटना हुनुमा विभिन्न कारण मानिन्छ ।
अव्यवस्थित सडक, लापर्बाहीपूर्ण सवारी हाँक्ने प्रवृत्ति अनि कतिपय प्राविधिक पक्षहरु दुर्घटना निम्त्याउने कारक बन्छन् । म्याद नाघेका सवारीसाधन निर्वाध रुपमा सञ्चालनमा भइरहनु पनि अर्को कारण हो । चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि धेरै दुर्घटना हुने गरेका छन् ।
२०८९–८० मा कोसी बस व्यवसायी संघमा दर्ता भएर गुड्ने २१ वटा सवारी दुर्घटनामा परेको कोसी बस व्यवसायी संघका संयोजकहरू मध्येका एक टीका निरौला बताउँछन् । दुर्घटना बढिरहेको सन्दर्भमा हामीले उनै निरौलासँग कुराकानी गरेका छौं ।
दिनहुँ सवारी दुर्घटना बढिरहेको छ, कारण के हुन सक्छ ?
पछिल्लो समय दुर्घटना बढ्नुका मुख्य कारणमध्ये अव्यवस्थित सडक पनि एक हो । सवारी साधनको संख्या बढिरहेको छ तर त्यस अनुपातमा पर्याप्त सडक छैन । सवारी साधनको चापले सडक साँघुरो बन्दै गएको छ । सवारी खरिदमा कुनै मापदण्ड छैन । सडकको क्षमताअनुसार मात्र सवारी चलाउन पाउने मापदण्ड भइदिएको भए सवारी दुर्घटना न्यून हुने थियो । त्यससँगै सवारी चालकहरुले प्राप्त गर्ने सवारी अनुमतिपत्र प्रदान गर्दा हुने लापरबाही साथै सवारी चालकहरूले मदिरा सेवन गरेर सवारी चलाउने गरेका कारण पनि दुर्घटना हुने गरेको पाएका छौँ ।
दुर्घटना कम गर्न नियमनकारी निकायहरूसँग संघले कसरी सहकार्य गरिरहेको छ ?
हामी सधैँ सहकार्यको पक्षमा छौँ । तर, ट्राफिक प्रहरी लगायतका सरकारी निकायहरूले सवारी साधनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुसँग सहकार्यमा खासै चासो दिएको जस्तो देखिँदैन । सवारी दुर्घटनामा मात्र नभएर यससँग सम्बन्धित सम्पूर्ण कुराहरूमा कोसी बस व्यवसायी संघले सरकारी निकायलाई सहयोग गर्दै आइरहेका छौँ र यसलाई निरन्तरता दिँदै लैजाने छौँ ।
सवारी दुर्घटना भए संघको भूमिका कस्तो रहन्छ?
हाम्रो संस्था नेपाल सरकारमा सूचिकृत भएको संस्था हो । हामीले विभिन्न सवारी साधनसँग सम्बन्धित जिम्मेवारी बाँडफाँट गरेका छौँ । सोहीअनुसार दुर्घटनाका लागि पनि हाम्रो छुट्टै टिम छ । सवारी दुर्घटना भएको खबर पाउनासाथ टिम परिचालित हुने गरेको छ । उक्त टिमले दुर्घटना स्थलमा तत्काल पुगेर दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल अस्पताल पुर्याउने काम गर्छ । त्यसपछि आइपर्ने सम्पूर्ण कामहरू जस्तै सवारी प्रहरीको जिम्मा लगाउने, घाइते तथा मृतकहरूको आफन्तको खोजीमा सहयोग गर्ने, यात्रु बिमा र घाइते यात्रु तथा कसैको मृत्यु भए तिनका आफन्तलाई सहयोग गर्ने जस्ता काममा हाम्रो भूमिका रहने गरेको छ ।
यस्ता संघ संस्थाहरूले कामभन्दा धेरै राजनीति गर्ने गरेको गुनासो आउने गरेको छ, के भन्नुहुन्छ ?
सबै संघ संस्थाहरू एकै हुन् । त्यहाँ कुनै राजनीति हुँदैन भनेर म पनि भन्दिन । तर, कोसी बस व्यवसायी संघमा हालसम्म राजनीति भएको मैले महसुस गरेको छैन । किनभने यस संस्थामा एउटा राजनीतिक दलमा आस्था राख्ने व्यक्तिहरू मात्र छैनन् । विभिन्न राजनीतिक दलसँग आस्था राख्ने व्यक्तित्वहरू तथा स्वतन्त्र व्यक्तित्वहरू यस संस्थामा हुनुहुन्छ । अर्को महत्वपूर्ण कुरा राजनीति र व्यवसायी संघ छुट्टाछुट्टै पाटा हुन् भन्ने मलाई लाग्छ । व्यवसायलाई राहत पुर्याउने तथा यस क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको सहयोगार्थ यो संस्था क्रियाशील भएका कारण पनि हाम्रो संस्थामा राजनीतिक छाया नरहेको जानकारी गराउँछु ।
दुर्घटनापछि यात्रुले प्राप्त गर्ने बिमा रकम प्राप्त गर्न निकै सास्ती भोग्नुपरेको गुनासो पनि आउने गरेको छ नि…
दुर्घटना बिमाका क्षेत्रमा सबैभन्दा पहिला हेरिने भनेको पीडित पक्षका कागजातहरू हुन् । हामीले समन्वय त गरिरहेकै हुन्छौँ । कागजात पूरा गरेर जिल्ला प्रशासनसँग रकमका लागि पहल गर्ने काम हामीले तत्परताका साथ गर्ने गरेका छौँ । पीडितले सास्ती खेप्नु पर्ने अवस्था आउनु आवश्यकता अनुसारको कागजात नपुगेकै कारणले हो । कतिपय मानिसहरू आवश्यक कागजात नपुर्याउने अनि सास्ती भयो भनेर गुनासो गर्ने गरेको पनि पाउने गरेका छौँ । हामीले बिमा रकम हस्तान्तरण गर्ने हैन । जिल्ला प्रशासन कार्यालयबाट सिधै पीडितलाई उक्त रकम हस्तान्तरण गर्ने गरिएको छ । कतिपय अवस्थामा बिमा संस्थानबाट नै ढिला सुस्ती हुने गर्छ तर त्यसको दोषी हामी बन्नु परिरहेको हुन्छ । तर, पीडितले बिमा रकम प्राप्त गर्ने कुरामा हामी सधैँ सहयोगी भूमिकामा नै रहने गरेका छौँ ।
धेरै वर्ष पुराना सवारी साधन सडकमा गुडिरहेका हुन्छन्, दुर्घटना हुनुमा यी पनि कारक होइनन् ?
नेपाल सरकारले २० वर्ष सञ्चालन भइसकेका सवारी साधनहरूलाई सञ्चालनमा रोक लगाएको छ । तर महत्वपूर्ण कुरा के हो भने २० वर्षसम्म चल्ने सवारीहरुमा भने कुनै पनि मापदण्ड लगाइएको छैन । यो नेपाल सरकारको गम्भीर त्रुटि हो भन्ने लाग्छ । रुट अनुसारको मापदण्ड छैन । मधेसमा चल्ने सवारी र पहाडमा चल्ने सवारीको खपत क्षमता एउटै हुन सक्दैन । तर, मापदण्ड दुवै क्षेत्रका सवारीहरूका लागि एउटै छ । यसमा सरकारको ध्यान जान आवश्यक छ ।
दुर्घटना कम गर्न सरकारी निकायबाट गर्नुपर्ने काम के हो जस्तो लाग्छ ?
पहिलो कुरा त चुस्त दुरुस्त सडक नै हो । त्यसपछि सवारी अनुमति प्रमाणपत्रमा एकरूपता आउन आवश्यक देखिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको रुटका आधारमा सवारीको म्याद राख्नुका साथै पहाडमा कस्ता सवारी चलाउन पाउने र तराईमा कस्ता सवारी चलाउन पाउने भन्ने विषयमा पनि नेपाल सरकारले स्पष्ट मापदण्ड बनाउन आवश्यक छ ।
Discussion about this post