बिनोद आचार्य /जापान । राजकुमार अधिकारीले गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका अधिकारीले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
उनी सन् २०२३ मा भएको निर्वाचनबाट उपाध्यक्ष बनेका थिए ।
लामो समय विभिन्न पदमा रहेर जापानमा नेपालीको हक हितमा काम गर्दै आएका अधिकारीले एनआरएनएको नेतृत्व सम्हालने अग्रसरता लिएका हुन् ।
एनआरएनए जापानको विधान अनुकुल ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारालाई सार्थक बनाउने अध्यक्षका प्रत्यासी अधिकारीको प्रतिवद्धता छ ।
यस्तै जापानमा रहेका नेपालीको हकहित संरक्षणमा सदैव लाग्ने अधिकारीको भनाइ छ । व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आवद्ध भएकाहरुका लागि कानुनी, भाषागत एवं अन्य समस्याहरुमा सहयोग गर्दै विभिन्न रुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजीका लागि पहल गर्नेसमेत उनले बताएका छन् ।
जापानमा रहेका नेपालीका लागि श्रम, सीप तथा भाषागत समस्या समाधानका लागि ‘हेल्प डेक्स’ नै स्थापना गर्ने उनको योजना छ ।
यस्तै, नेपाली विद्यार्थीका लागि अध्ययनसँगै रोजगारीमा पनि समन्वय गर्ने अधिकारीको प्रतिवद्धता छ । अहिलेसम्म एनआरएनए जापानमा राजधानी टोकीयोवासी मात्रै अध्यक्ष हुँदै आएका थिए ।
उक्त प्रचलनलाई तोड्दै टोकियो बाहिरबाट अध्यक्षका प्रत्यासी बनेका अधिकारीले सहयोग गर्न अपील गरेका छन् ।
आफ्नो कार्यकालमा एनआरएनए जापानलाई सबै नेपालीको साझा संस्थाको रुपमा स्थापित गर्ने उनले बताए ।
नेपाल जापान बीचको सामाजिक भाईचाराको सम्बन्ध सुमधुर गर्नको लागि सिर्जनात्मक कार्यक्रमहरुको साथै आर्थिक विकासलाई पनि महत्व दिई दुई देश बीच आर्थिक साझेदारी जापान बसाइ सकिएर नेपाल गएकाहरुले नेपालबाटै पेन्सन लिन पाउने व्यवस्था लगायतका सम्झौता गर्न सक्रिय रहने, प्रवासी नेपालीहरुले अन्तर्राष्ट्रिय संघसंस्थाबाट पाउने सुविधा बारेमा अबगत गराउने तथा उक्त सेवा सुविधा लिनको लागि एनआरएन जापान मार्फत गर्न सम्वन्यत्मक भूमिका निर्वाह गर्ने, जापानमा हाल रहेका नेपाली मजदुर तथा व्यवसायीहरु बीच भएका कार्यअवधि तथा तलव सुविधाहरु लगायतका समस्याहरु समाधानको लागि सक्रिय रुपमा पहल गर्ने प्रमुख योजना रहेको अधिकाले बताए ।
जापानमा अध्ययनरत विद्यार्थीहरुलाई पढाइ सकेपछि रोजगारीको खोजीमा सहजीकरण गर्ने, एनआरएन जापानमा प्रवेश हुन चाहनेहरुलाई बाह्रै महिना सदस्य लिन सकिने गरी नीति बनाउने, एनआरएनको आर्थिक विवरण संस्थाको वेबसाइट, फेसबुक लगायत सार्वजनिक माध्यममा त्रैमासिक अवधिमा सबैले थाहा पाउने गरी सार्वजनिक गर्ने उनको योजना छ ।
जापानमा कसैको मृत्यु भए तिनको परिवारलार्इ दिइने सुविधा थप बनाउँदै लैजाने, रेस्टुरेन्टहरुमा क्रियाशील कुक पेसामा कार्यरत नेपालीहरुको क्षमता अभिवृद्धिका लागि सम्बन्धित क्षेत्रका दक्ष कुकहरुबाट तालिम लिन सकिने व्यवस्था गर्ने उनले प्रतिबद्ध जनाएका छन् ।
Discussion about this post