इटहरी । ‘परिवर्तनका लागि सामाजिक अभियान’ को साधारण सभाले विष्णु बराललाई ३ वर्षको कार्यकालका लागि अध्यक्ष पदमा पुनः निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभाबाट उपाध्यक्ष भोजराज श्रेष्ठ, सचिव त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल र सदस्यहरुमा विदुर थापा, प्रशान्त अग्रवाल, हेमचन्द्र ढकाल, जेनिश शाक्य र निशान नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
विधानअनुरुप बाँकी २ सदस्य अध्यक्षले मनोनित गर्नेछन् भने सल्लाहकारहरुमा मोहन श्रेष्ठ, वासुदेव बराल र डा. प्रशान्त शाह रहेका छन् ।
सभामा कोषाध्यक्ष वर्षा अग्रवालले आर्थिक प्रतिवेदन एवम् सचिव बिदुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०७८ भदौ ७ गते स्थापना भएको संस्थाले पाक्षिक रुपमा सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । डा. प्रशान्त शाहद्वारा स्वास्थ्य परीक्षण गरिने उक्त कार्यक्रम धरानका विभिन्न वडाहरु, बराहक्षेत्र, इनरुवा र झापामा समेत आयोजना भएको अभियानका अध्यक्ष बिष्णु बरालले बताए ।
विशेषगरी मुटु, रक्तचाप र मधुमेहसम्बन्धी स्वास्थ्य जा“च गरिने यो क्लिनिक जेष्ठ नागरिकहरुका लागि प्रभावकारी रहेको संस्थाले जनाएको छ । निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ३८ औं संस्करण सम्पन्न भइसकेको छ ।
साधारण सभाबाट सामाजिक स्वास्थ्य क्लिनिकमा बिरामीहरुलाई ‘फलोअप’ गर्न सजिलो होस् भन्ने हेतुले मोबाइल एप्स तयारीका लागि सदस्य निशान नेपाललाई जिम्मेवारी दिइएको छ ।
अभियानले सामुदायिक विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरु छनौट गरी ‘घरको स्कुल’ कार्यक्रममार्फत् निःशुल्क पढाइरहेको छ । यस कार्यक्रमलाई अझ उत्कृष्ट बनाउन त्रिभुवन बराल र राजु फुयाल सदस्य रहने गरी उपाध्यक्ष भोजराज श्रेष्ठको संयोजकत्वमा एक समिति बनाइएको छ ।
अभियानले स्वास्थ्य र शिक्षासम्बन्धी कार्यक्रमहरु साथै विभिन्न प्रकारका प्रशिक्षण, चित्रकला कार्यशाला र पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण समेत गर्दै आएको छ ।
Discussion about this post